अष्ट्रेलिया, ६ कात्तिक । सन्दिप क्षेत्री फरक ट्रेन्डका स्ट्यान्ड अप कमेडियन हुन् । उनको हास्यब्यंगमा शैली फरक छ अनि प्रस्तुती पनि । रुखो स्वरमा तिखो ब्यंगबाणले उनको कार्यक्रम ‘हवाट द फल्प’ जनमानसमा यति चाँडै लोकप्रिय भयो की यतिखेर उनको डिमान्ड भ्याइनभ्याइ छ ।
दाेस्रो पुस्ताका रुपमा हास्ने र हसाउने कलालाई फरक ढाचाँमा ढाल्ने कोशिसमा लागेको सन्दिप छोटो समयमै डायस्पोराका लोकप्रिय कलाकार बनिसकेका छन् । दोस्रो पटक सिड्नीमा तिखो ब्यंगबाण लिएर आइपुगेका सन्दिपले शुक्रबार प्रवासको मायाले डोराएको बताए ।
अस नेप इभेन्ट्सको आयोजनामा आइतबार हुने रमाइलो साँझ, तिहारको माँझका लागि सिड्नी आइपुगेका सन्दिपले भने, प्रारम्भमा डायस्पोरालाई फरक ढंगले सोचेको थिए तर अहिले फरक पाँए ।
कुरोको चुरो खोल्दै सन्दिप भन्छन, नेपाली कलाकारितालाई डायस्पोराको मायाले बाँधेको छ भन्दा फरक नपर्ला । पहिले पहिले नयाँ अनि नौलो र गफ लाग्थ्यो तर अहिले साच्चिक्कै भूगोल र सिमाले आत्मियता अनि माया ममतालाई छेक्न र रोक्न नसक्ने रहेछ भन्ने ठहरमा पुगेको छु ।
पहिलो पुस्ताको नेपालीहरुको बाहुल्यता रहँंदासम्म नेपालीपन दिगो रहने हो की भन्ने चिन्ता सन्दिपले जनाए । हाम्रो भाषा, संस्कृती र गाना बजाना अनि ताल बुझ्ने पुस्तै रहेन भने डायस्पोरा सुनसान हुने छ । उनले प्रवासी दाजुभाइहरुलाई आफ्नो भाषा ,कला, संस्कृती बचाइराख्न आग्रह समेत गरे ।
मिठाइ लाल जादबको नाममा उनले मधेश झल्काउने र कार्यक्रममा पल्काउने अभिनयको निरन्तरता दिने बताए । बिरगञ्ज स्थायी घर भएका सन्दिप भोजपुरीमा खप्पीस छन् र स्थानीय माहौलसँंग चिरपरिचित । त्यसैले पनि उनको यो अभिनय जिवन्त रहेको पाइन्छ । उनको अभिनयपछि यादव समाजको एउटा डेलिगेसन समेत उनकोमा आएको रोचक प्रसंग सुनाउदै सन्दिपले भने, हाम्रो जातको गरिमा राखिदिनुहोला भन्ने आग्रह गर्नु भएको छ ।
आइतबारे रमाइलो साँझको अर्को आकर्षण रहेका छन्, युवा गायक धर्मेन्द्र सेवान । चर्चित गायक तथा नेपाल तारा धर्मेन्द्र सेवानले पनि आफ्नो बाबु तथा लोकभाकाका सर्जक बुद्धि परियारका गीतहरु ‘रेशम फिरिरि।।।’ र ‘हेर्दा राम्रो माछापुच्छे।।।’, जस्ता गीत मार्फत सिड्नीबासीलाई मनोरन्जन प्रदान गर्ने छन । धर्मेन्द्रले नयाँ पुस्तामाझ पनि पुराना भाका र धुन अझैपनि जिवन्त रहिरहनु गौरवको बिषय रहेको बताए ।
कार्यक्रममा उदीयमान गायिका श्रेया सोताङले आफ्ना सुमधुर गीतहरु समेत पस्कने भएकी छिन् । नेपालका चर्चित जोडी गायक उदय र मनिला सोताङकी सुपुत्री श्रेयाले सीड्नीबासीको माया पाउने बिश्वास ब्यक्त गरिन् । कार्यक्रममा एनआरएनका सहसचिव तथा अस नेपालका सल्लाहकार भिष्म भण्डारीले नयाँ सोच र बिश्वासका साथ नेपाली कला संस्कृतीको जर्गेनाका लागि कार्यक्रमको सुरुआत गरेको बताए ।
प्रकाशित मिति: ६ कार्तिक २०७३, शनिबार ११:१२