काठमाडौँ, ५ कात्तिक । काठमाडौँका शैक्षिक संस्थाहरुमा विष्फोटन तथा विष्फोटक पदार्थ राख्ने मुख्य योजनाकार सहित थप ४ जना प्रहरी पक्राउ गरेको छ ।
पक्राउ मध्ये दोलखा घर भएका माओवादी कम्यूनिष्ट केन्द्र नेपाल पार्टीको महासचिव तथा मुख्य योजनाकार प्रकाश भन्ने केशव दाहाल, काभ्रे घर भएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी केन्द्रका संयोजक तथा मुख्य योजनाकार मिन देवकोटा भन्ने बिनोद थापा, सर्लाही मुस्तकिम अन्सारी, सप्तरी घर भएका विष्णु पौडेल रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रताप सिंह थापाको उपस्थितिमा सार्वजनिक गरिएकाे हो । साथै यस अघि नै उक्त घटनामा संलग्न रामेछापका शंकर लाखे र सिन्धुलीका चन्द्रबहादुर तामाङ्गलाई पक्राउ गरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी दिँदै आयुक्त थापाले घट्ना कार्यमा समलंग्न रहेकाहरू माओवादी कम्यूनिष्ट केन्द्र नेपाल नामक पार्टीव्दारा विद्यालयमा भएका अनियमिततालाई आधार देखाई विद्यालयहरुमा हस्तक्षेप गर्ने नीति लिएको देखिएको बताए । त्यसैका आधारमा आफ्नो भातृ संगठनका नाममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रले एन प्याब्सनको कार्यालयलाई सम्बोधन गरी ९ माग राखी विद्यालायमा हुने अनियमितता रोक्न ज्ञापन–पत्र बुझाएको देखिएको, दवाव दिने उद्देश्य स्वरुप डल्लुमा गाडीमा आगजनी गरेका र सो अभियोगमा शंकर लाखे सहित ८ जनालाई महानगरीय प्रहरी बृत्त स्वयम्भूले पक्राउ गरी आगजनी मुद्दामा कारवाही गरिएकोमा काठमाण्डौ जिल्ला अदालतबाट साधारण तारेखमा छुटेको देखिएको प्रहरीले जनाएको छ।
पार्टीका महासचिव भनिएका प्रकाश भन्ने केशव दाहाल २०६६ सालमा सुरेन्द्र लम्साललाई अपहरण गरी ३ करोड फिरौती माग गरेको, २०६६ सालमै नयाँपाटी सुन्दरीजलमा बम बिष्फोटन गरेको, २०७० सालमा चितुवाको छाला र गैंडाको खाग तस्करी गरेको र ७ पटक विभिन्न प्रहरी कार्यालयमा सार्वजनिक अपराधमा प्रहरीद्वारा पक्राउ परी मुद्दा चलाईएको प्रहरीले जनाएको छ ।
उक्त पार्टीले राजनीतिक दलको आवरणमा विभिन्न स्कुल, कलेज तथा औद्योगिक प्रतिष्ठानहरुमा धम्काई अनियमितता भएको वाहनामा चन्दा आतंक जारी राखेको समेत प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई विष्फोटक पदार्थ तथा संगठित अपराध ऐन अन्तर्गतको अभियोगमा कारबाहि गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार १७:५४