काठमाडौँ, ५ कात्तिक । रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले गर्ने भएको छ ।
पुरातत्व विभागले दिएको नमूना डिजाइन अनुसारको काम काठमाडौँ महानगरपालिकाले प्राविधिक कारणले गर्न कठिन परेकाले पुनर्निर्माणको जिम्मेवारी पुरातत्व विभागलाई दिने निर्णय गरेको हो । निर्णय अनुसार पुरातत्व विभागकै नमूना डिजाइन अनुसार मन्दिरको पुनर्निर्माण हुनेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतको कार्य टोली तथा पुरात्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ सहित बसेको बैठकले सो निर्णय गरेको हो ।
महानगरपालिकाले निर्माण गरेको बालगोपलेश्वर मन्दिरको पुनर्निर्माण मापदण्ड अनुसार नभएको भन्दै पुरातत्व विभागले आपत्ति जनाएपछि केही समयदेखि मन्दिर पुनर्निर्माण प्रक्रिया अवरुद्ध भएको थियो ।
बैठकमा भएको सहमति अनुसार रानीपोखरी निर्माणका सम्बन्धमा बालगोपालेश्वर मन्दिर बाहेकका निर्माण गर्नुपर्ने सबै कामको निर्माण कार्य काठमाडौँ महानगरपालिकाले यथाशीघ्र कार्यन्वयन गर्ने गराउने पूर्ववतः निर्णयलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकताका साथ कार्यान्वयन गर्ने भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
काठमाडौँ दरबार क्षेत्रलाई सुव्यवस्थित बनाउने सम्बन्धमा गुरु योजना तयार पार्नका लागि काठमाडौँ महानगरपालिकाले अध्ययन गराउने कार्य अघि बढाउने तथा सो कार्यमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिका र पुरातत्व विभाग लगायतका सम्बन्ध निकायसँग आवश्यक सहजीकरण एवं समन्वय गर्ने निर्णय पनि भएको छ ।
यस्तै काठमाडौं दरबार क्षेत्रमा बन्ने वा बन्दै गरेका मापदण्ड विपरितका निजी घरहरुका सम्बन्धमा महानगरपालिका एवं पुरातत्व विभागले अनुगमन गरी अनाधिकृत रुपमा बन्न लागेको पाइएमा तत्काल निर्माण कार्य रोकी सो को प्रतिवेदन प्राधिकरणमा पठाउने निर्णय भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाद्वारा आज जारी प्रेस नोटमा उल्लेख छ ।
प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार १६:०३