काठमाडौँ, ५ कात्तिक । वाणिज्यमन्त्री रोमीगौचन थकालीले उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिबाट आएका निर्देशनलाई मन्त्रालयले उच्च प्राथमिकता दिने बताएका छन् ।
व्यवस्थापिका संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आज उनको सम्मानमा राखेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री थकालीले समितिबाट दिएको निर्देशन व्यवस्थापिका संसद्ले दिएको ठानेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “समितिले दिएको निर्देशनलाई पूरा गर्ने, जवाफ दिने र सल्लाह लिने काममा मन्त्रालय लाग्छ ।”
मन्त्री थकालीले एकीकृत व्यापार रणनीति २०१४ लाई कार्यान्वयनमा ल्याएको बताउँदै यसले दुई राष्ट्रबीच हुने बजेट घाटालाई सम्बोधन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले केही दिन अगाडि आmू बिबिइन (बङ्गलादेश, भुटान, इन्डिया र नेपाल) को वाणिज्य बैठकमा गएको बताउँदै उक्त बैठकमा नेपाल र यी मुलुकमा जाने सामानको निकासी सम्बन्धी विषयमा छलफल भएको बताए ।
उनले भने, “यो बैठकले नेपालले यी मुलुकसँग ठूलो फाइदा लिने ढोका खोलेको छ ।”
मन्त्री थकालीले विभिन्न देशमा नेपालबाट हुँदै आएको अलैँची, पस्मिना, कफी, अदुवालगायत निर्यातलाई मन्त्रालयले बढी प्राथमिकता दिएको बताउँदै यस्तै व्यापार सहजीकरण, पूर्वाधार विकास र कनेक्टिभिटी लगायतमा मन्त्रालयले उच्च प्राथमिकता दिएको बिचार व्यक्त गरे ।
उनले रसुवा बन्दरगाह निर्माणका लागि मु–आब्जा दिने कामलाई अगाडी बढाएको जानकारी पनि दिए ।
समितिका सभापति भीष्मराज आङ्देम्बेले अगामी दिनमा नेपालको व्यापार घाटा कम हुने विश्वास व्यक्त गरे । रासस