भक्तपुर, ५ कात्तिक । अन्नतलिङ्गेश्वर नगरपालिका–१३ (गुण्डू) स्थित घ्याम्पेडाँडाको गुरुयोजना निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरोकारवालाले माग गरेका छन् ।
घ्याम्पेडाँडा पूर्वाधार विकास तथा पर्यटन संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले तत्काल गुरुयोजना निर्माण गरी यसको संरक्षणमा जुट्न स्थानीयवासीलाई आग्रह गरे । यस्तै स्थानीय विकास अधिकारी धु्रव्र कोइराला र अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले त्यहाँको वन, जडीबुटी, प्राकृतिक र साँस्कृतिक सम्पदाको जगेर्ना गर्न गुरुयोजना निर्माण गरी कार्यान्वयनमा जानुपर्ने आवश्यकता औँल्याए ।
सूर्यविनायबाट करिब चार किलोमिटरको दुरीमा रहेको घ्याम्पेडाँडाबाट काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकका विभिन्न ठाउँ देख्न सकिन्छ । यहाँबाट मनास्लु, गणेश र कञ्चनजङ्घा हिमाल समेत देख्न सकिन्छ । सो स्थानबाट तीन किलोमिटरमाथि ऐतिहासिक रानीकोट दरबार रहेको छ ।
इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार मल्लकालमा निर्माण भएको सो दरबार जीर्ण अवस्थामा रहेको बताउछन् । दरबार नजिकै चुच्चे ढुङ्गा र बाघ भैरव रहेको छ । दरबारसम्म पुग्न एक हजार १०० वटा सिँढी निर्माण गरिएको छ । घ्याम्पेडाँडा नजिकै राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न लागिएको र त्यसमा बाघ, स्याल, मृग, खरायो, दुम्सी, बँदेल, सालक, कालिज, तित्रा देख्न सकिन्छ ।
डाँडाको पूर्वमा आशपुरी, दक्षिणमा फूलचोकी, उत्तरमा केदारनाथको शिर (डोलेश्वर महादेव) र पश्चिममा सुवर्णेश्वर महादेव अवस्थित् छन् । उक्त क्षेत्रको संरक्षणका लागि स्थानीयवासीले कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष लालबहादुर लामाले बताए । रासस