चितवन ५ कात्तिक । विषालु च्याउ खाएर एकै परिवारका आठजनाको दुःखद् निधन भएको गाउँ चितवनको विकट लोथर गाविस–९ कान्दामा चेपाङ बालबालिकाको शिक्षाका लागि नमुना छात्रावास सञ्चालनमा आएको छ ।
उक्त छात्रवासमा अहिले १२३ जना बालबालिका बसेर सरकारी स्कुल कान्देश्वरी राप्राविमा अध्ययन गर्दछन् । यहाँ बस्नेमा अधिकांश चेपाङ बालबालिका छन् भने केही गुरुङ, मगर, तामाङ विद्यार्थी छन् ।
लक्ष्मी प्रतिष्ठान नेपालले देशविदेशमा रहेका दाताको सहयोगमा सङ्कलित रकमबाट यहाँ छात्रवास निर्माण गरेको हो । अहिले छात्रवासमा विषयगत दक्ष शिक्षकसमेत राखिएको छ ।
चितवनको सदरमुकाम भरतपुरबाट पूर्व करिब चार घन्टाको सवारी यात्रापछि छ घन्टाको उकालो पहाड चढेर कान्दा पुगिन्छ । सवारी दुर्घटनामा परी मृत्यु भएका आफ्ना दुई छोरा कुमार र बलराम गौतमको सम्झनामा प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले ‘कुमार–बलराम स्मृति चेपाङ छात्रावास’ सञ्चालन गरेका हुन् ।
आर्थिक अभावका कारण खान नभएर गिठा, भ्याकुरसँगै जङ्गली च्याउ टिपेर खाने क्रममा २०६७ सालमा स्थानीयवासी बाबुराम चेपाङसहित उनकै परिवारका आठजनाको मृत्यु भएपछि गाउँमा अहिले सामाजिक चेतना तथा शिक्षाका लागि लक्ष्मी प्रतिष्ठानले काम गरिरहेको छ ।
मितेरी फाउन्डेसनले प्रतिष्ठानलाई गाउँमा जोडेपछि अहिले प्रतिष्ठानले कान्दा गाउँ नै परिवर्तन गरेको छ । “दुई छोराको अकालमै ज्यान गयो, मन बुझाउन गाह्रो भएपछि पत्नी लक्ष्मीको नाममा प्रतिष्ठान स्थापना गरी छोराहरुको सम्झनामा सामाजिक अभियान थालेको हुँ” – गौतमले भने।
खान नपुग्ने चेपाङका बालबालिकालाई आवासीय रुपमा राख्न पाएकामा छोराहरु जिउँदै भएको अनुभव भएको उनी बताउछन् । उक्त छात्रवास तथा ८५ घर स्थानीयवासीको आयआर्जन विकास एवम् घर निर्माणका लागि अहिलेसम्म रु तीन करोड खर्च भएको छ ।
स्थानीयवासीको जनश्रमदान करिब रु एक करोड ५० लाख लागेको गौतम बताउछन् । चार वर्षको अथक प्रयासले अहिले कान्दाको स्वरुप नै परिवर्तन भएको र खान नपाएर स्कुल नआउने बालबालिका नियमित स्कुल आउन थालेको उक्त विद्यालयका प्रधानाध्यापक विष्णु थपलिया बताउछन्।
छात्रावासमा १४ वटा एकीकृत भवन बनेका छन् । बालबालिकालाई सुविधायुक्त भवनमा स्थानमा राखिन्छ । उनीहरुलाई तेक्वान्दोलगायत विभिन्न खेल सिकाइन्छ भने अहिले आ–आफ्ना प्रतिभासमेत बालबालिकाले देखाउन थालेका छन् ।
हालै छात्रावासको स्थलगत अनुगमन गरेर फर्केका जिल्ला शिक्षा समिति चितवनका संयोजक तथा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले अन्य छात्रावासले पनि कान्दाबाट पाठ सिक्नुपर्ने प्रतिक्रिया दिए ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)का केन्द्रीय सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोम सापकोटाले यसरी ठाउँठाउँमा एकीकृत बस्ती बनाएर चेपाङ छात्रावास सञ्चालन गर्न सके शिक्षा स्वास्थ्य, रोजगार तथा आयआर्जनमा समेत चेपाङलाई अगाडि ल्याउन सकिने बताए ।
हालै मात्र यहाँ नेपाल जर्नी अमेरिकाले सुविधायुक्त पुस्तकालयसमेत स्थापना गरेको छ । यो पुस्तकालयमा इ–लाइब्रेरीसमेत सञ्चालन गर्ने योजना रहेको सापकोटाले जानकारी दिए । रासस