कांग्रेसमा कार्की प्रकरणमा छलफल भएको छैनः साउद
काठमााडौँ, ४ कात्तिक । सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले अख्तियार दुरूपयोग अनुशन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेबारेमा आफ्नो पार्टीले अहिलेसम्म कुनै छलफल नै नगरेको स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता साउदले कार्कीलाई महाअभियोग लगाउनेबारेमा पार्टीभित्र अहिले छलफल पनि नभएको र अहिले दर्ता भएको प्रस्तावमा कुनै संलग्नता नै नरहेको स्पष्ट पारे ।
उनले अघि थपे,‘महाअभियोगबारेमा अहिलेसम्म नीतिगत तथा संस्थागत निर्णय भएको छैन, हामी औपचारिक रुपमा छलफल गरेरमात्रै यसबारेमा निर्णय गर्छौं ।’
साक्षात्कारमा बोल्दै नेता साउदले आजबाट सुरु भएको केन्द्रिय समितिको बैठकमा यो विषय एजेण्डा नभएपनि यसबारेमा समेत अनौपचारिक छलफल हुने बताए । उनले अघि थपे,‘महाअभियोगको विषय भनेको संसदको स्वामित्को विषय हो ।’
उनले संविधान संशोधन गर्दै यसको सर्वस्विकार्यताका लागि सबै पक्षसँग वार्ता तथा छलफल भैरहेकोले यसबारेमा समेत पाटीलै चाँडै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाए । साउदले थपे,‘आजबाट चलेको केन्द्रिय समितिको बैठकले संविधान संशोधनको बारेमा समेत साझा धाराणा बनाउँछ ।’ उनले प्रदेशको सिमांकनको विवाद टुँगो लगाउने, नागरिकताको विषय र समावेशिताको विषयमा समेत सकारात्मक रुपमा छलफल गर्दैै धारणा बाहिर ल्याउने बताए ।
महाअभियोग प्रस्तावलाई किनारा लगाउन एमालेले सहयोग गर्छ : ज्ञवाली
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अख्तियार प्रमुख कार्कीको विरुद्धमा आएको महाअभियोग प्रस्ताव स्वागतयोग्य भएकोले यसलाई निश्कर्षमा पुर्याउन आफ्नो पार्टीले पूर्ण रुपमा सहयोग गर्ने स्पष्ट पारे । उनले अघि थपे,‘यो प्रस्तावलाई किनारा लगाउनुपर्छ, यसको लागि एमलेले साथ दिन्छ ।’
अख्तियार प्रमुखको नियुक्तीलाई लिएर आफ्नो पार्टीले सुरुवातदेखि नै विरोध गरेको उल्लेख गर्दै सचिव ज्ञवालीले भने,‘लोकमानको नियुक्ती नै कानूनसम्मत् थिएन, जनआन्दोलन दबाउने र परिवर्तन आत्मसात् गर्न नसक्ने व्यक्ति कसरी अख्तियार प्रमुख बन्न सक्छन्, उनको योग्यता नै पुग्दैन्थ्यो ।’
उनले कार्कीले पूर्वाग्रही राखेर काम गरेको, भ्रष्टाचारीहरुलाई उल्टै संरक्षण गरेको र लोकतन्त्रलाई लोकमानतन्त्र बनाउन खोजेको आरोप लगाउँदै भने,‘कार्कीले आतंक मच्चाएका थिए, उनको नियुक्तीको विरोध गरेकै आधारमा शम्भु थापा र कनकमणि दिक्षितलाई मुधा चलाईयो, यो कस्तो पूर्वाग्रही थियो ।’
पार्टीभित्र छलफल भएर महाअभियोग प्रस्ताव ल्याएको होईन : शाही
नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले अख्तियार प्रमुखमाथि ल्याईएको महाअभियोगको प्रस्ताव पार्टीमा छलफल नगरी ल्याईएको स्पष्ट पारेका छन् ।
शाहीले थपे,‘हामीले सांसदको स्वतन्त्र अधिकारको उपयोग गरेर यो प्रस्ताव ल्याएका हौं, मुलुकमा कानूनी शासनको निरीहिता रहनुहुँदैन भनेर हामीले स्वतन्त्र अधिकार प्रयोग गरेका छौं ।’
शाहीले अख्तियार प्रमुख कार्कीले आफ्नो कार्यक्षेत्र नाघेर पूर्वाग्रही ढंगले काम गरेको आरो लगाउँदै भने,‘संसदको निर्देशन उल्लंघन गर्ने काम भयो, उहाँले समितिलाई समेत छल्ने काम गर्नुभयो, समितिले बोलाउँदा उहाँ नआउने, विरामी भएको नाटक पार्ने तर त्यही दिन अर्को कार्यक्रममा जाने ? यो उहाँको गलत नियत थियो भन्ने कुरा प्रमाणित हुन्छ ।’
शाहीले अख्तियार प्रमुख कार्कीले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई लत्याउने काम गरेकोले बाध्य भएर उनको विरुद्धमा महाअभियोग प्रस्ताव ल्याएको जिकिर गरे । उनले भने,‘लोकमानले यो देशमा समानान्तर सरकार गठन गरे, कानूनी राज्यको उपहास गरे, मन नपरेका मान्छेहरुलाई पूर्वाग्रहरु भावनाले कारवाही गरेर आतंक मच्चाउने काम गरेका थिए, त्यसैले यो प्रस्ताव पारित हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’ उनले लोकमानको गलत गतिविधिका कारण मुलुकमा विकास निर्माणका कार्य ठप्प भएको समेत आरोप लगाए ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त लोकमानसँग आफ्नो कुरा भएको र यो विषय टुगिएको बताएका थिए नि भन्ने पत्रकार प्रश्नमा उनले भने,‘खोई, उहाँले के मिल्यो भन्नुभयो, हामीले पनि अखबारमा पढेका हौं, कति सत्य हो अखबार नै जानोस्, तर यसबारेमा हामी अहिलेसम्म अनभिज्ञ नै छौं ।’
रहस्यमय ढंगबाट महाअभियोग प्रस्ताव दर्ता भयो :गिरी
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले अख्तियार प्रमुख कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता भैसकेकोले नैतिकताका आधारमा कि राजिनामा दिनुपर्ने कि प्रस्ताव फेस गर्नुपर्ने दुई वटा विकल्प रहेको बताए ।
प्रमुख सचेतक गिरीले लोकतन्त्रलाई बलियो बनाउनको लागि भ्रष्टाचार निर्मुल पार्नुपर्ने बताए । उनले अख्तियार प्रमुख कार्कीले भ्रष्टाचार न्युनिकरणको लागि महत्वपूर्ण कामहरु गरेको स्मरण गर्दै भने,‘उहाँले भैष्टाचार रोक्नको लागि महत्वपूर्ण कदम चाल्नुभएको थियो, उहाँको काम गराईले धेरैमा तरंग पैदा भएको थियो, हामीले सुशासन समितिमा बोलाएर सानो माछा मात्रै नभएर ठूलै ह्वेल माछा समात्न समेत भनेका थियौं ।’
यद्धपी उनले महाअभियोग प्रस्ताव समितिमा दर्ता भएपनि यसको बारेमा आफ्ना पार्टीले अहिलेसम्म कुनै आधिकारिक धारणा नै बनाई नसकेको जिकिर गरे ।
गिरीले हिजोमात्रै महाअभियोग समिति गठन भएको उल्लेख गर्दै समिति गठन भएकै दिन महाअभियोग प्रस्ताव दर्ता पाएको कुरा मिडियामा मार्फत थाहा पाउँदा आश्चर्य लागेको बताए । उनले थपे,‘म स्वयम हाम्रो पार्टीको तर्फबाट समितिको सदस्य हुँ, तर मलाई यसबारेमा कुनै जानकारी नै थिएन ।’ यसले उनले नैतिकताको प्रश्न उठाएको बताए ।
चार जना ठेकेदारको मुद्दा फिर्ता लियो भने महाअभियोग प्रस्ताव तुहिन्छ :कर्ण
मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले प्रमुख पार्टीका चार ठेकेदारको मुद्दा हट्यो भने महाअभियोग प्रस्ताव तुहिने ठोकुवा गरेका छन् ।
सद्भावना पार्टीका सह–अध्यक्ष समेत रहेका नेता कर्णले महाअभियोग समिति गठन गर्दा पनि काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्रले ठेकेदारी देखाएको अरोप लगाउँदै भने,‘अरु दल छैन, यो देशमा, यी चार पार्टीले जे चाह्यो त्यही हुने ? यो कस्तो ठेकेदारी हो ?’ कर्णले यसअघि पनि सुशासन समिति गठन गर्दा यस्तै दादागिरी प्रमुख दलहरुले गरेको गुनासो पोखे ।
उनले दिनभरि संसदमा सुत्नेहरु भ्रष्टाचार होईनन र भन्दै प्रश्न समेत गरे । संविधानको दुहाई दिएर आयोगलाई पंगु बनाउने काम भएको समेत उनको गुनासो थियो ।
मधेशी मोर्चा र काँग्रेस–माओवादी केन्द्रवीच भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख भएपनि सरकारले महत्वपूर्ण काममा अहिलेसम्म प्रवेश नै नगरेको कर्णले आरोप लगाए । संविधान संशोधनमार्फत आफ्ना मुद्दाहरुको सम्बोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने उनको भनाई थियो ।
कर्णले सरकारले मोर्चासँग बसेर संविधान संशोधनको विषयमा साझा धारणा बनाएपछि मात्रै अन्य पार्टीसँग त्यसबारेमा छलफल हुनुपर्नेमा अहिले सरकारले एमालेलाई देखाएर नाटक मञ्चन गरिरहेको समेत आरोप लगाए । उनले थपे,‘अहिले सरकारले बहानाबाजी गरिरहेको छ, यो बहानाले चल्दैन ।’
उनले मोर्चाले सरकारको ढिलासुस्तीबारे जनतालई सुसुचित बनाईराखेको बताउँदै छठसम्म पनि कुनै प्रक्रिया अघि नबढे संघर्षमा उत्रिने मोर्चाको तयारी रहेको बताए । यद्धपी उनले प्रधानमन्त्री प्रचण्डले हिजो संसदमा सम्बोधन गर्दा छठसम्म मोर्चालाई पर्खिन आग्रह गरेकोले आफूहरु त्यही अनुसारको तयारीमा रहेको समेत जिकिर गरे ।
प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार १५:१८