सुर्खेत, ३ कात्तिक । यहाँ आयोजित एक सार्वजनिक सुनुवाईका सहभागीले कार्यक्रममा सुझावमात्रै लिनुको कुनै अर्थ नभएको बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाले बुधबार आयोजना गरेको पहिलो चौमासिक सार्वजनिक सुनुवाईका सहभागीले कार्यक्रममा सुझावमात्रै लिने तर कार्यान्वयन नगर्ने भन्दै सुझाव दिइरहनुको कुनै अर्थ नभएको बताएका हुन् ।
नगरभित्रका संरचना, नगरपालिकाले प्रदान गर्ने सेवासुविधाका वारेमा सुझाव लिने तर कार्यान्वयन नगर्ने नगरपालिकाको प्रवृत्ति रहेकाले सेवाग्राहीहरु मर्कामा परेको गुनासो गर्दै आगामी दिनहरुमा सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै नगरपालिकालाई अघि बढ्दै जान आग्रह समेत कार्यक्रमका सहभागीहरुले गरेका छन् ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले पानी ल्याउन भन्दै नगरभित्रका पिच सडकहरु धमाधम खनिएको, एकै दिनमा नगरपालिकाबाट काम नबनेको, लेखनदासहरुले मनपरी शुल्क असुलेको, जगेडा कोषको रकम कहाँ खर्च हुन्छ भन्ने जस्ता जिज्ञासा गरेका थिए ।
त्यस्तै बजार क्षेत्रको फुटपात हटाउन नसकेको, ढलको समस्या पनि उस्तै रहेको, बजार क्षेत्रको घर अगाडि आफूखुशी सेप्mटी टंकी खनिएको, भवन आचार संहिता अनुसार भवनहरु निर्माण भए नभएको बारे अनुगमन नभएको, बजारमा नियमित अनुगमन हुनुपर्ने, चक्रपथ फराकिलो बनाउनुपर्ने जस्ता समस्याको समाधान गर्न पनि सहभागीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा नगरपालिकाले भवन आचारसंहिता अनुसार भवन निर्माण भए नभएको प्रभावकारी अनुगमन भइरहेको दावी गरेको थियो । यस्तै विषयगत कार्यालयहरुबीच समन्वय हुन नसकेको स्वीकार गर्नुका साथै कार्यालयले प्राथमिकताका आधारमा सुझावहरुलाई कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता गरेको छ ।
कार्यक्रममा अमरबहादुर कार्की, देवप्रसाद गौतम, माधवप्रसाद भट्टराई, कल्पना शाही, धनबहादुर बोगटीलगायतले सुझावसहितको जिज्ञासा राखेका थिए भने कार्यकारी अधिकृत बालाराम शर्मा, बरिष्ठ प्रशासन अधिकृत प्रकाश पौडेल लगायतले जवाफ दिएका थिए ।
प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार १७:५०