काठमाडौँ, २ कात्तिक । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा घरजग्गा कारोबार उत्साहजनक देखिएको छ । चालू आवको साउन र भदौ दुवै महिनामा घरजग्गा कारोबारवापत संकलन हुने राजस्वमा लक्ष्यभन्दा दोब्बरसम्मले वृद्धि भएको छ ।
भूमिसुधार तथा व्यवस्थापन विभागको तथ्यांकअनुसार साउनमा ८४ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा १ अर्ब ८० करोड रुपैयाँ संकलन भएको छ ।
भदौ महिनामा ७० करोड २१ लाख रुपैयाँ राजस्वको लक्ष्य लिइएकोमा १ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको छ । विभागका अनुसार साउनमा १ सय ९६ र भदौमा लक्ष्यभन्दा २ सय २२ प्रतिशले बढी राजस्व संकलन भएको छ । गत आवको तुलनामा पनि यो रकम दोब्बरभन्दा बढीले वृद्धि भएको हो । कारोबार दैनिकमा खबर छ ।
गत आवको साउन महिनामा ६३ करोड ३७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ६३ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । भदौमा ६९ करोड ९३ लाख रुपैयाँ लक्ष्य लिइएकोमा ६९ करोड ९३ लाख रुपैयाँ नै संकलन भएको थियो ।
गत आवमा भूकम्प र नाकाबन्दीको कारण घरजग्गा कारोरबामा कमी आए पनि अघिल्लो आवमा भने कारोबारमा लक्ष्यभन्दा बढी नै रहेको विभागको भनाइ छ ।
विभागको तथ्यांकअनुसार आव ०७१/०७२ को साउनमा ३९ करोड ५२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ७२ करोड रुपैयाँ २६ लाख रुपैयाँ संकलन भएको छ । भदौमा ४१ करोड २१ लाख रुपैयाँ लक्ष्य लिइएकोमा ७९ लाख २३ हजार रुपैयाँ संकलन भएको छ ।
गत वर्षको तुलनामा चालू आवमा घरजग्गा कारोबारमा सुधार आएको नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष ओमराज राजभण्डारी बताउँछन । उनका अनुसार गत आवमा भूकम्प र नाकाबन्दीका कारण सम्पूर्ण क्षेत्र जस्तै रियल इस्टेट क्षेत्रमा पनि असर परेकाले कारोबारमा कमी आएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको सहरी विकास समितिका सभापति समेत रहेका राजभण्डारीले चालू आवमा रियल इस्टेट क्षेत्रको कारोबार उत्साहजनक रहेको बताए ।
“भूकम्पपछि राजधानीभित्र हाउजिङको माग एकदमै बढेको छ,” उनले भने, “तर मागअनुसार आपूर्ति हुन सकेको छैन ।” भूकम्पपछि सबैको ध्यान व्यवस्थित आवासमा गएका कारण पनि अहिले हाउजिङको माग बढेपछि रियल इस्टेट कारोबारमा सुधार भएको हो ।
प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलवार ०७:२८