कञ्चनपुर, ३० असोज । कञ्चनपुरमा बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको छ । आधारभूत तहमा भर्ना भएका विद्यार्थीहरु माध्यमिक तहसम्म नपुग्ने समस्या बढी देखिएको हो ।
जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले गरेको सर्भेक्षणअनुसार विद्यालय बीचमै छाड्नेमा अधिकांश आर्थिक अवस्था कमजोर रहेका मुक्त कमैया, मुक्त हलिया, दलित, वादी, भूमिहीन, सुकुम्बासी र अपाङ्गता भएका बालबालिका बढी रहेका छन् ।
“आधारभूत तहमा भर्ना भएका आर्थिक अवस्था कमजोर रहेका पाँचदेखि १० प्रतिशत बालबालिकाले मात्रै माध्यमिक तहसम्म पुग्ने गरेको पाइएको छ ।
आधारभूत तहको कक्षा ५ सम्म जेनतेन पढे पनि त्यसपछि अभिभावकसँगै मजदुरी गर्न भारततर्फ जाने भएकाले बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेको जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताए ।
यसलाई न्यूनीकरण गर्न छात्रवृत्तिका कार्यक्रम सञ्चालन भइरहेको र दिवा खाजा कार्यक्रम माग गरिएको सहायक जिल्ला शिक्षा अधिकारी भट्टले बताए ।
सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम
बालबालिकाको पढ्ने बानीको विकास गराउने उद्देश्यले कञ्चनपुरका २६१ सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय कञ्चनपुरसँगको सहकार्यमा ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस)को रु दुई करोड ३४ लाख ५५ हजार ७५६ सहयोगमा दुई वर्षे कार्यक्रम सञ्चालन गरिएको हो ।
बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि घरमा पढ्ने वातावरण सिर्जना गर्ने र अभिभावकलाई यसका लागि उत्तरदायी बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बेसका कार्यक्रम संयोजक तिलक चौधरीले बताए ।
स्रोत केन्द्र, विद्यालय र गाउँघरस्तरमा पढ्ने वातावरणका लागि टोल कक्षा सञ्चालन गरिएका छन् ।
आधारभूत तहको कक्षा १ देखि ३ सम्मका बालबालिकाले किताबमा लेखिएका अक्षरहरु उच्चारणसमेत गर्न नसक्ने अवस्थाका रहेकाले उनीहरुलाई किताब पढ्न सक्ने र हिसाब गर्न सक्ने बनाउनका लागि टोल टोलमा कक्षा सञ्चालन गरी सघाउ पुर्याउने कार्यक्रम संयोजक चौधरीले बताए ।रासस