काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्ने वातावरण तयार गर्न भुटान सरकारसँग आग्रह गरेका छन् । ब्रिक्स सम्मेलनमा भाग लिन भारत पुगेका प्रधानमन्त्री दाहाल र उनका समकक्षी छिरिङ तोब्गेसँगको भेटमा उनले भुटान फर्कन चाहने शरणार्थीको चाहनालाई सम्बोधन गर्न आग्रह गरेका हन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले शरणार्थी समस्याको समाधानले दुई देशबीचको सम्बन्धलाई अझ बढी उचाइमा पुर्याउने उल्लेख गर्दै त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । परराष्ट्रमन्त्रीको नीजि सचिवालयका अनुसार दुई देशका साझा समस्यालाई आपसी सहयोग आदानप्रदान गरी समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने विषयमा वार्ता भएको थियो ।
त्यसैगरी, प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तोब्गेसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क सम्मेलन गर्ने उपयुक्त वातावरण बनाउने सम्बन्धमा पनि छलफल गगरेका थिए । उनले सार्कलाई गति दिनका लागि दुई देश मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिए ।
साथै, नेपाल, भारत, भुटान र बङ्गलादेशसहितको सार्क उपक्षेत्रीय समूहका मुलुकले ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा मिलेर अगाडि बढ्न र त्यसका लागि साझा धारणा तय गर्ने विषयमा पनि छलफल भएको थियो ।
भेटघाटका क्रममा भुटानी प्रधानमन्त्री तोब्गेले द्विपक्षीय हितका विषयमा भुटान सकारात्मक रहेको र शरणार्थीका विषयलाई चाँडो समाधान गर्न पहल गर्ने बताएका थिए । भेटमा परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव बैरागी, भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाललगायतको उपस्थिति थियो । ब्रिक्स बिमस्टेक आउट्रिच सम्मेलनमा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार नै प्रधानमन्त्री दाहाल भारत पुगेका हुन् ।
प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार २१:१३