असोज २८ जाजरकोट । जिल्लामा लोकसंस्कृति हराउदै गएमा चिन्ता व्यक्त गर्न थालिएको छ । खगेनकोट–६ का शेरवहादुर खत्री लोकसंस्कृति हराउँदै गएकोमा चिन्तित छन् । दसैं लगायतका चाडबाडमा हुने सांस्कृतिक उत्सव हुन छाडेका छन् भने दसैंको बेला गाउँगाउँमा हालिने रोटेपिङ र लिङ्गेपिङ पनि यसपालि देखिन छाडेको खत्री बताउछन् । दसैंमा गाउँगाउँमा सिगारु नाच हुन्थ्यो अहिले सबै हराएको छ ।
उनले पुर्खाले चलाएको संस्कृति लोप हुन थालेकोमा निकै चिन्तित भएको बताए । आफ्नो पालामा तरुनी केटीले पिङको डोरी बनाउन जङ्गलमा गएर बाबियो काटेर ल्याउने र तन्नेरी केटाले बाँसको लिङ्गा काटेर वा भिमल रूख, सल्लीको हाँगामा पिङ बनाउने चलन रहेको स्मरण गर्दै उनले अहिलेका केटाकेटीमा पहिलेको जस्तो जाँगर र संस्कृतिप्रतिको मोह नभएको बताए । “पहिले पिङ नहालेको गाउँ सायदै हुन्थ्यो, अहिले पिङ हालेको गाउँ सायदै भेटिन्छ,” उनले भने, “दसैंको बेला नाचिने सिङ्गारु, सरिङ्गे, मारुनी, सोरठी, खाँडो लगायतका नाच नाचिन छोडेका छन् त्यसको ठाउँमा डेकले ठाउँ लिएको छ । पिङको सट्टा युवायुवती मोबाइल, इन्टरनेट र टिभीमा रमाउन थालेका छन् ।”
सक्ला–१ की ८३ वर्षीया नदी खत्रीले पनि प्रविधिको विकास र पश्चिमा संस्कृतिको प्रभावले पुर्खाले चलाएको लोकसंस्कृति लोप हुने अवस्थामा पुगे भन्दै चिन्ता जनाइन् । लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा यो पुस्ताले ध्यान दिएन भने अर्को पुस्ताले देख्न नपाउने उनको भनाई छ । केही वर्षअघि आफैँले बनाएको लिङ्गेपिङमा खुबै रमाएको सम्झदै उनी भन्छिन्, “अहिले कतै पिङ हालेको देखिँदैन । त्यो बेला साथीहरु मिलेर पिङ बनाउने डोरीका लागि बाबियो लिन जङ्गल जान्थ्यौँ ।” ३० वर्ष अघिको कुरा सम्झँदै खत्री भनिन् “चाडबाडमा पहिलेजस्तो अहिले रमाइलो गरेको जस्तो लाग्दैन । पिङ बनाउँदा र खेल्दा समेत मायाप्रिति गाँसिन्थ्यो, निकै रमाइलो गथ्र्यौँ ।”माथितिर कमेरो माटो र तलतिर रातोमाटोले घर लिपेर झकिझकाउ पारिन्थ्यो, अहिले माटोको ठाउँ चुन र बजारी रंग पेन्टले लिएको छ । पहिले गाउँघरकै स्थानीय बाजा घन्किन्थे भने अहिले डेकले उक्त ठाउँ लिएको छ
प्रकाशित मिति: २८ आश्विन २०७३, शुक्रबार ०७:४३