काठमाडौं । सवै नेपालीहरुलाई दसैंले छपक्कै छोपेको छ आम नेपालीलाई दसैं लागेका बेलामा नेताहरुलाई पनि दसैंले छोपेको छ । मध्य दसैंमा नेताहरु आफ्न्तहरुसंग बसेर दसैं मनाइरहेका छन् । यो संगै नेताहरुले विजया दशमीका दिन टिका लगाउने तयारी समेत गरिरहेका छन् । प्रायः बामपन्थी नेताहरु टिका लागउने परम्पराको बिरुद्धमा देखिन्छन तर नेपाली कांग्रेसका नेताहरु भने यो परम्परा धान्दै आएका छन् । नेपाली कांग्रेसका नेताहरु मध्ये सभापति शेरबहादुर देउवाको टिका छैन भने महामन्त्री डा सशांक कोइरालाले यो पटक टिका नलगाउनेभएका छन् । वरिष्ठ नेता पौडेलको टिका भने काठमाडौंमा हुनेभएको छ ।
देउवाको टिका छैन
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको यो दसैँमा टीका छैन । आफन्तको निधनका कारण टीका नभएपछि घरमा सामान्य जमघट गरेर दसैँ मान्ने तयारी उनको छ । सभापतिको भतिजको निधनका कारण यसपटक देउवाको टीकाको कार्यक्रम नभएको स्वकीय सचिव भानु देउवाले बताए । उनले भने, ‘दसैँमा घरमा बस्ने आएका नेता–कार्यकर्ता भेट्ने कार्यक्रम मात्र हो ।’ दसैँको फुर्सदको समयमा कतै घुमफिर गर्ने, किताब पढ्ने, सिनेमा हेर्नेजस्ता कार्यक्रम पनि देउवाको छैन । दसैँका वेला दलहरूबीच संविधान संशोधन, स्थानीय तह र प्रदेशको सीमांकनसहितका विषयमा छलफल भए सभापति देउवा सहभागी हुन सक्ने भानु देउवा बताउँछन् । बुढानीलकण्ठमा पत्नी आरजु, सहयोगी र सुरक्षाकर्मीसँगै देउवा दसैँ मनाउँदै छन् । देउवाका एक मात्र छोरा बेलायतमा अध्ययनरत छन् । सभापति सुशील कोइरालाको निधनका कारण कांग्रेसले यसपटक दसैँका अवसरमा औपचारिक कार्यक्रम, जलपानजस्ता कार्यक्रम राखेको छैन ।
दसैँ उपयोग गर्दै पौडेल
कांग्रेस नेता रामचन्द्र पौडेल यसपटक पनि काठमाडौंमा दसैँ मनाउँदै छन् । घरमा खसी काट्ने, टीकाटालो गर्ने, नेता–कार्यकर्तासँग भेट गर्ने तयारी गरेका पौडेलले दसैँको अवसरमा राजनीतिक भेटघाट पनि गर्ने तयारी गरेका छन् । घरमा आउने नेता–कार्यकर्ता, आफन्त, शुभेच्छुकलाई टीका लगाउने, आशीर्वाद दिने कार्यक्रम उनले तय गरेका छन् । छोरा चिन्तन बेलायत भएका कारण घरमा पौडेलदम्पती मात्र छन् । चार छोरीमध्ये तीन छोरी बाबु पौडेलसँग टीका थाप्न आउने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारी बताउँछन् । स्वकीय सचिव अधिकारीका अनुसार पौडेलले दसैँका वेला संविधान कार्यान्वयनका विषयमा दलीय छलफलका लागि प्रयास गर्ने कार्यक्रम बनाएका छन् । माओवादी र एमालेका नेताहरूलाई पौडेलले फोन गरेरै दसैँको समयमा राजनीतिक छलफल गर्नुपर्ने बताइसकेका छन् ।
शशांकले टीका नलगाउने
महामन्त्री डा. शशांक कोइरालाको पनि यो दसैँमा टीकाको कार्यक्रम छैन । पार्टीका पूर्वसभापति सुशील कोइरालाको निधनका कारण यसपटक शशांकले टीका नलगाउने भएका हुन् । केही समयअघि निमोनियाको उपचार गरेपछि उनी अहिले पनि आराम गरिरहेका छन् । दसैँको समयमा पनि घरमै आराम गर्ने उनका स्वकीय सचिव भरत तिवारी बताउँछन् ।
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला १७ असोजदेखि झापामै छन् । चारआली–केचना सडक पिचका लागि शिलान्यास गरेपछि सिटौला गृहजिल्लामा छन् । उनी नवमीको दिन काठमाडौं आउँदै छन् । उनको यसपटकको दसैँमा टीकाको कार्यक्रम छैन । कान्छीआमाको निधनका कारण टीकाको कार्यक्रम नभएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए । पूर्वसभापति सुशील कोइरालाको निधनका कारण पार्टीले औपचारिक रूपमा दसैँमा शुभकामना र चियापान कार्यक्रम नराखे पनि तरुण दल, नेविसंघ, महिला संघजस्ता भ्रातृ संस्थाले गर्ने कार्यक्रममा कांग्रेस नेताहरू सहभागी हुँदै आएका छन् । सिटौलाका छोरा अध्ययनका लागि अमेरिकामा छन् ।
त्यसैगरि अर्का पुर्व महामन्त्री प्रकाशमान सिंहको टिका पनि आफ्नै चाक्सीवारीस्थित निवासमा हुनेछ । कांग्रेस कोषाध्यक्ष सितादेवि यादवको टिका पनि यो पटक मन्त्री क्वाटरमा नै हुने भएको छ भने नेता बिमलेन्द्र नीधिले यो पटकको दसैं मन्त्री क्वाटरमा मनाएका छन भने केहि मन्त्रीहरु आफ्नो गृह जिल्ला पुगेका छन् । नेता डा रामशरण महत यो पटक दसैं मान्नका लागि भारतको राजधानी नयाँ दिल्ली गएका छन् । उनी छोरी दिल्लीमा भएकाले सपरिवार दसै मान्नका लागि भारत गएका हुन् । त्यसै गरि नेता खुमबहादुर खड्का पनि दसैंका लागि दिल्ली लागेका छन् । उनको स्वास्थ्य नियमित जाँच गर्नका लागि दिल्ली जानुपर्ने भएकाले दसैं दिल्लीमा नै मनाएका हुन् । बाणिज्यमन्त्री रोमी गौचन थकाली दसैमा बिदेशमा छन भने सहकारी तथा गरिबी निवारण मन्त्री ह्दयराम थानी दसै मनाउनका लागि गृहजिल्ला सुर्खेत पुगेका छन् ।
प्रकाशित मिति: २४ आश्विन २०७३, सोमबार ०७:२०