बाबियाचौर (म्याग्दी), २३ असोज । म्याग्दीका दुई सामुदायिक विद्यालयलाई करिब रु पाँच लाख सहयोग प्राप्त भएको छ ।
ती विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीले कुहुँको दीपशिखा माविलाई रु तीन लाख ६५ हजार ११० र भगवती–३ अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर प्राविलाई रु एक लाख १७ हजार ७७७ सहयोग प्राप्त भएको हो ।
प्रवासबाट दसैँ मनाउन जन्मथलो आएका पूर्व विद्यार्थीको स्वागतका लागि आयोजित कार्यक्रममा दीपशिखा माविका पूर्व विद्यार्थी हरि र हेमा राम्जालीले रु एक लाख पाँच हजार तथा रुपेश राम्जालीले रु एक लाख पाँच हजार सहयोग गरेका थिए ।
राम्जालीत्रयसहित दीपक जिसी, नारायणप्रसाद शेरपुञ्जालगायत २३ जना पूर्व विद्यार्थीले रु तीन लाख ६५ हजार ११० नगद सहयोग गरेको प्रअ नन्दबहादुर खत्रीले बताए ।
दश जोड दुई तहको पठनपाठन सञ्चालनका लागि सहयोग रकम परिचालन गरिने विद्यालयले जनाएको छ ।
यसैगरी भगवतीको सिद्धार्थ ज्ञानमन्दिर प्राविमा भवन निर्माणका लागि भगवती–७ घर भई हाल पोखरा बस्नु हुने लोकबहादुर भण्डारीले रु एक लाख ११ हजार १११ र भगवती–४ का गणेशबहादुर खत्रीले रु छ हजार ६६६ सहयोग गर्नुभएको प्रअ तोरणबहादुर श्रेष्ठले जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालयको रु १३ लाख ५० हजार अनुदानमा निर्माण सुरुभएको विद्यालयको भवनका लागि यसअघि गाविस कार्यालयले रु तीन लाख ३२ हजार २२३, भगवती–३ घर भई हाल काठमाडौँ बस्नु हुने क्षेत्रबहादुर श्रेष्ठले रु २१ हजार ५०५, मोना बेलायत, हङकङले रु २९ हजार २०० र धेरैनी सामुदायिक वन उपभोक्ता समूहले रु २० हजार सहयोग गरेका थिए । रासस