कञ्चनपुर, २१ असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मौरीफाँटामा बिहीबार १३ किलो चरेससहित एकजना पक्राउ परेका छन् ।
लागुऔषधको कारोबारमा संलग्न रहेका कृष्णपुर नगरपालिका–८ मौरिफाँटा ३० वर्षीय कृष्णानन्द भट्ट १३ किलो चरेससहित बिहीबार पक्राउ परेका हुन् । भट्टले बझाङबाट चरेस ल्याएर कञ्चनपुर र कैलालीका स्थानीय व्यापारीलाई बेच्ने गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले भट्टलाई उनकै घरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा पक्राउ परेका भट्टविरुद्ध लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
शान्तिसुरक्षा प्रदान गर्न प्रहरी प्रतिबद्ध
यसैबीच, नेपाल प्रहरीले नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्न पूर्णरुपमा प्रतिबद्ध रहेको जनाएको छ । ६१औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बिहिबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पठाएको सन्देश पढ्दै कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले प्रहरी नागरिकको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
कार्यक्रममा सहभागीले सुरक्षाका सवालमा प्रहरीले कसैसँग सम्झौता गर्नु नहुने बताए । अमर प्रहरी परिवारका तर्फबाट आफ्ना विचार राख्दै सीता बोहराले अमर प्रहरीका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताए ।
पूर्वप्रहरी निरीक्षक खगेश्वर केसीले बढ्दो प्रविधिको विकासले अपराधीको अन्तर्राष्ट्रिय सञ्जाल बलियो बन्दै गएकाले प्रहरीलाई काम गर्न चुनौती थपिएको बताए । उनले टीकापुर घटनाका दोषीलाई कुनै पनि हालतमा छाड्नु नहुने बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसङ्घका संयोजक हेमविक्रम थापाले टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा व्याख्या गरिनु गलत भएको बताए । अपराधमा संलग्न व्यक्तिलाई राजनीतिक दबाबमा छाड्नु नहुने उनले बताए । कार्यक्रममा महाकाली अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रामप्रसाद श्रेष्ठले प्रहरीको सफलतामा नागरिकको ठूलो हात रहने बताए ।
कार्यक्रममा प्रमुख अतिथि एवम् कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले प्रहरीले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए । विसं २०१२ सालमा नेपाल प्रहरीले वैधानिक मान्यता पाएको अवसरमा दिवस मनाउँदै आएको छ ।
रासस