पाल्पा २० असोज । बौघापोखराथोकका टीकाराम रेश्मीले दूध बेचेर मासिक रु ६० हजार आम्दानी गर्दै आएका छन् ।
दूध उत्पादनबाटै उनको परिवारको गुजारा राम्रोसँग चलेको छ । उनले विगत छ वर्षदेखि व्यावसायिक रुपमा गाई पाल्न थालेका हुन् । रेश्मीको फार्ममा अहिले होलस्टिन क्रस, जर्सी र ब्रनस्विस जातका गरी १२ वटा माउ गाई र सातवटा बाच्छाबाच्छी रहेका छन् । उनले दैनिक ७० लिटर दूध भन्दा बढी बिक्री गर्दै आएका छन् ।
करिब ११ वर्षसम्म उनले साउदी र कतारमा मजदुरी गरेका हुन् । “विदेशको कमाइले खान र बस्न मात्र ठिक्क हुन्थ्यो,” उनले भने – “कमाउन सकिएन खाली हात घर फर्किनुप¥यो ।” गाउँमा अरुले गाई पालेर दूध बिक्रीबाट मनग्य आम्दानी गरेको देखेपछि उनले गाई पाल्न सुरु गरेका हुन् ।
रेश्मीले रु १२ लाखको लगानीमा व्यवसाय सुरु गरेका हुन् । जिल्ला पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत रु ५९ हजार, एउठटा चापकटर मेसिन र मोटर खरिदका लागि रु १० हजार सहयोग गरेको पशु विकास अधिकृत डा चन्द्रबहादुर राना बताउछन् ।
पन्ध्र माउ गाईबाट दैनिक १५० लिटर दूध उत्पादन गरी मासिक रु एक लाख बराबर आम्दानी गर्ने उनको लक्ष्य छ । उत्पादित दूध सदरमुकाम तानसेनमा बिक्री गरिँदै आएको छ ।
गाउँमै रोजगारी
हुमिन गाविसका जीतबहादुर दर्लामी रोजगारीको खोजीमा साउदी अरब पुगे । सन्तोषजनक कमाइ नभएपछि उनी घर फर्किए । तर अहिले यहाँ सीप र प्रविधिको उपयोगबाट उनले मासिक रु ३० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् ।
दर्लामीले अहिले फर्निचर उद्योगमा काम गरिरहेका छन् । यस्तै हुमिनका सन्तबहादुर नेपालीले पनि विदेशमा भन्दा दोब्बर कमाइ गर्दै अाएका छन् । रुप्से गाविसमा सञ्चालित फर्निचर उद्योगमा दर्लामी र नेपालीलगायत १० जना युवालाई काम र दाम कमाउने अवसर मिलेको छ । उनीहरुले मासिक रु १५ हजार ज्यालाबापत आम्दानी गर्छन् ।
खाडीमुुलुक ताक्नुको सट्टा आफूसित भएको सीपको सदुपयोग गर्न सके गाउँघरमा नै आम्दानी गर्न सकिने दर्लामी बताउछन् । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार दुई नगरपालिका, ६० गाविसका करिब २०० वटा फर्निचर उद्योगमा दुई हजारभन्दा बढी युवाले प्रत्यक्ष रुपमा रोजगारीको अवसर प्राप्त गरेका छन् । रासस