रोल्पा, १९ असोज । वर्षांैसम्म मर्मतसम्भार नहँुदा रोल्पाका अधिकांश खानेपानी योजना लथालिङ्ग भएका कारण रोल्पालीलाई सुरक्षित खानेपानीको समस्या देखिएको छ ।
कागजमा करिब ९० प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको भनिएपनि योजना निकै पुराना रहेका कारण जिल्लामा धेरै घरधुरी सुरक्षित खानेपानी उपयोगबाट वञ्चित रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ ।
जिल्लाका ४४ हजार पाँच घरधुरीमा सुरक्षित खानेपानी सुविधा पुगेको कार्यालयमा तथ्याङ्क भएपनि योजना निकै पुरानो रहेका कारण सबै घरधुरीले सुरक्षित खानेपानी सुविधा प्रयोग गरिरहेकोमा आफू विश्वस्त नरहेको जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाका सूचना अधिकारी डिल्लीराज न्यौपानेले बताए ।
तथ्याङ्कमा रोल्पा जिल्लामा चार हजार तीन सय ८३ घरधुरीमा मात्र सुरक्षित खानेपानी सुविधा नपुगेको देखिन्छ न्यौपानेले अगाडि भने । जिल्लामा विसं २०२० सालमा बनेका योजना पनि हालसम्म मर्मतसम्भार हुन नसकेको न्यौपानेले बताए । मर्मतका लागि निकै कम मात्र बजेट आउँछ, योजना निकै ठूला छन्, फलस्वरुप धेरै योजना लथालिङ्ग अवस्थामा छन्, न्यौपानेले गुनासो गरे ।
सन् २०१७ भित्र सम्पूर्ण जनतालाई आधारभूत खानेपानी र सरसफाइको सुविधा पु¥याउने भनिए पनि सरकारबाट आउने बजेट अहिलेकै अवस्था जस्तै रहने हो भने रोल्पालीका लागि आधारभूत खानेपानी ‘आकाशको फल आँखातरी मर’ हुने नागरिक अगुवा पुष्पा श्रेष्ठले बताए ।
जिल्लाको सदरमुकाममा रहेको एक मात्र नगरपालिकामा खानेपानी तथा सरसफाइको समस्या समाधान गर्ने भन्दै करिब रु ४५ करोडको लागतमा तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ योजना लागू गर्न लागिएको लिवाङ खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष मानबहादुर खत्रीले बताए ।
सम्पूर्ण योजनामा सुरक्षित खानेपानी योजना लागू गर्ने भनिएपनि रोल्पा जिल्लामा भने हालसम्म गजुल गाविसमा रहेको एक खानेपानी योजनामा मात्र सुरक्षित खानेपानी योजना लागू भएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाले जनाएको छ । रासस