सुर्खेत, १८ असोज । लघुवित्त कार्यक्रमका संस्थापक शंकरमान श्रेष्ठले नेपालको गरिबी घटाउन लघुवित्त कार्यक्रमको ठूलो योगदान भएको दावी गरेका छन् । उनले लघुवित्त कार्यक्रमले गरीब र विपन्न परिवारको आर्थिक अवस्था सुधारेर गरिबी घटाएको जनाएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा लघुवित्त विज्ञ समेत रहेका श्रेष्ठले पछिल्लो समय देशव्यापी रुपमा फैलिएको लघुवित्त नै गरिबी घटाउने मुख्य आधार बनेको टिप्पणी गरे । सुरुमा बैंकहरुले गरीब र विपन्न माथि विना धितो लगानी गर्न डराएको स्मरण गर्दै उनले कार्यक्रम सफल भएपछि अहिले निजी बैंकहरु लगानी गर्न तँछाड मछाड गरेको जनाए ।
उनले विपन्न वर्गलाई अन्धधुन्ध ऋण दिएर उनीहरुलाई तिर्न नसक्ने तरिकाले ऋण नदिन समेत सहकारीहरुलाई आग्रह गरे । उनले भने ‘गरीबलाई जति पैसाको आवश्यकता छ त्यति मात्रै ऋण दिने हो, त्यो भन्दा बढी दियो भने पछि गएर समस्या आउन सक्छ ।’ उनका अनुसार लघुवित्त अहिले देशभर निकै फस्टाउदै गएको छ । उनले लघुवित्तले गरीबको आर्थिक, सामाजिक उत्थान गर्ने अथवा गरीबको जीवन परिवर्तन गर्ने यसको मुख्य उदेश्य रहेको छ ।
नेपालमा अहिले ४३ वटा लघुवित्त बैंक, २३ वटा गैरसरकारी संस्था र ५० वटा सहकारी संस्थाबाट २० लाख गरीब तथा विपन्न परिवार लाभान्वित बनेको लघुवित्त विज्ञ श्रेष्ठ जानकारी दिए । सुर्खेतमा पनि वातावरण सहकारी संस्था, बौद्ध ग्रामीण सहकारी संस्था र छिन्चुको गंगामाला सहकारीले सञ्चालन गरेको लघुवित्त कार्यक्रम निकै सफल भएको आफूले पाएको उनले जनाएका छन् ।
लघुवित्त कार्यक्रम करिव ९८ प्रतिशत कार्यक्रम सफल भएको दावी गर्दै उनले ठूलो उद्यमी, व्यवसायीभन्दा गरीव र विपन्न नागरिकको विश्वास लघुवित्त कार्यक्रममा भएको उल्लेख गरे । विना धितो कर्जा दिने भएकोले गरीबहरु नै यसको मुख्य आधार भएको उनको भनाइ छ । उनले अझैपनि बास्तविक गरीबहरु समक्ष कार्यक्रम पूर्णरुपमा पुग्न नसकेको भन्दै उनले ती विपन्न समक्ष पुग्न समेत सहकारीहरुलाई सुझाव दिएका छन् ।
प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार १७:५१