काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवन रक्षार्थ युद्ध स्तरमा काम गरेर मात्रै पुनर्निर्माणमा प्रगति हासिल हुन सक्ने बताएका छन् । पुनर्निर्माण प्राधिकरणको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेसम्म नीतिगत र संरचनागत काम बढी भएका बताए । जनताले राहत र पुनर्निर्माणको अनुभूति हुने गरी काम हुन सकेको भन्दै गुनासो गरेका छन् । प्रधानमन्त्री दाहालले भने– ‘ हामीले सम्वदेनशील भएर राहत, पूनर्बास र पुनर्निर्माणको काम गर्नुपर्छ ।’ प्रधानमन्त्रीले परामर्श समितिको अर्को बैठक ६ महिना अगावै बस्ने बताए ।
प्रधानमन्त्रीले भने– ‘कार्यविधिमा परामर्श समितिको बैठक ६ महिनामा बस्ने व्यवस्था छ । तर, कामको चाप र सम्वेदनशीलता हेरेर म छिटै बैठक बोलाउनेछु । यसपछि प्राधिकरणको कार्यकारी समिति र निर्देशक समितिको बैठक बोलाएर थप निर्णय र कामलाई रफ्तारमा लगिनेछ । छिटै जनताले परिणाम देख्ने गरी काम हुनुपर्छ ।’
परामर्श समितिको कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीले प्राधिकरणले गरेको हालसम्मको प्रगति, समस्या र प्राधिकरणको अवस्थाबारे परामर्श समितिलाई जानकारी गराएका थिए ।
बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष बामेदव गौतम, परराष्ट्र मन्त्री डा प्रकाशशरण महत लगायतका व्यक्तित्वहरुले पुनर्निर्माणलाई प्रभावकारी बनाउनेबारे आफ्ना धारणा राखेका थिए ।
परामर्श समितिको बैठकले भूकम्पबाट अति प्रभावित १४ जिल्लाको प्रतिनिधित्व हुने गरी परामर्श समितिमा १४ जना सांसद थप गर्ने अधिकार प्रधानमन्त्री तथा परामर्श समितिका अध्यक्ष प्रचण्डलाई दिएको छ ।
बैठकले दातृ निकायसँग समन्वय र पुनर्निर्माण स्रोत जुटाउने प्रयोजनका लागि ऐनमा व्यवस्था भए बमोजिमको पुनर्निर्माण विकास सहायता तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । समितिका सदस्यहरुबारे निर्णय गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई दिइएको छ ।
प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार १३:००