काठमाडौँ, १८ असोज । करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब रु १५ हजारबाट सुरु गरेकाे सानो व्यवसायले अहिले करिब रु तीन करोडको पुँजी विस्तार गरेको छ ।
फाइल फोटो
वैदेशिक रोजगारीमा गएर जस्तो पनि दुःख कष्ट गर्न पछिनपर्ने कामदारका लागि स्वदेशमै केही गर्न सकिन्छ भनी प्रेरणाको स्रोत बनेकी छिन्, सफल उद्यमी कल्पना योङहाङ (लिम्बू) ।
विसं २०६४ मा त्यही रु १५ हजार खर्चेर एउटा तान जम्मा गरी त्यसबाट ढाका बुन्न सुरु गरेकी लिम्बूले स्थापना गरेकाे ‘द हाइल्यान्ड आर्ट’ ले अहिले विश्व बजारमा नेपाली सीपबाट बनेका ढाका तथा ढाकाजन्य कपडाको पहिचानलाई विस्तार गर्दै गएको छ ।
सुरुमा आफैँले उत्पादन गरेका वस्तुलाई विभिन्न स्थानमा डुलेर निकै दुःखका साथ अरुलाई किन्न हार गुहार गर्ने कल्पनाले अहिले करिब १०० थान कपडा बुन्ने तान जोडेकी छिन् । उनले भक्तपुर, कीर्तिपुरमा समेत व्यावसायिक रुपमा तान विस्तार गर्दै करिब १३० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएकी छिन् ।
नेपाली हस्तकला तथा मौलिकताबाट बुनिएका रुमाल, सल, खाँडीका कपडा, सुरुवाल, मफलरलगायत वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरेको छ ।
व्यवसाय विस्तारका क्रममा दक्षिण कोरियाबाट पहिलो विदेश यात्रा सुरु गरेकी उनले अहिले युरोपका विभिन्न २७ तथा अन्य ११ राष्ट्र गरी ३८ वटा मुलुकको भ्रमण गरेकी छिन् ।
सफल उद्यमी कल्पनाले नेदरल्यान्डमा ‘हिमालयन ज्वेलरी एण्ड हेन्डीक्राफ्टस्’ नामक शोरुम स्थापना गरी आफ्नो कम्पनीको उत्पादनलाई निर्यात गर्दै आएकी छिन् ।
नेपालको पूर्वी पहाडी जिल्ला तेह्थुममा विसं २०१९ मा जन्मनुभएकी योङहाङले स्थापना गरेकाे उक्त संस्थाबाट रु ५० देखि रु ५० हजारसम्म मुल्य पर्ने वस्तु उत्पादन हुने गर्दछन् । उनले स्वदेश तथा विदेशका विभिन्न स्थानमा राम्रो उत्पादन तथा फेसन डिजाइनका लागि करिब १० हजार घन्टा तालिम लिएकी छिन् ।
ढाकाको उत्पादन नेपालीको परम्परागत सीप तथा वस्तु उत्पादन भएको बताउँदै उनले भनिन् – “सरकारले साना घरेलु उद्यमीलाई व्यावसायिक बनाउन राष्ट्रिय योजना निर्माण गर्दा निश्चित बजेटको व्यवस्था गर्नुपर्छ ।”
स्वदेशी उत्पादनलाई सरकारले औपचारिक कार्यक्रम तथा कर्मचारीको ड्रेसमा अनिवार्य प्रयोग गर्नुपर्ने सुझाव दिँदै उनले सरकारले यस किसिमको नीति अवलम्बन गरेमा बेरोजगारीको समस्याबाट आक्रान्त धेरै जनशक्तिलाई उत्पादनमा जोडेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिने विचार उनले व्यक्त गरिन् ।
उनका अनुसार एक औपचारिक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत उक्त कम्पनीको उत्पादनलाई प्रयोग गरेकी छिन् ।
विभिन्न किसिमका सङ्घसंस्थाले आयोजना गर्ने सौन्दर्य प्रतियोगिता (ब्युटी कन्टेस्ट)का सहभागी तथा चर्चित मोडेलले समेत इच्छाएका वस्तु तथा कपडा त्यहाँ खरिद गर्ने गर्दछन् । इन्टरनेट, मोबाइल, सामाजिक सञ्जाल तथा चिने जानेका साथीभाइबाट उहाँका उत्पादन खरिद बिक्री हुने गर्दछ । उक्त कम्पनीको उत्पादनले नेपाली बजारको मागलाई पूरा गर्न सकेको छैन ।
वर्षमा एकपटक आफ्नो जन्मदिनको तिथि पारेर विगतका दुःख तथा सङ्घर्षलाई समीक्षा गर्ने गरेको कल्पना बताउँछिन् । विभिन्न सामाजिक कार्यमा समेत व्यस्त कल्पनाले प्राप्त गरेको सफलता धेरैका लागि ऊर्जा तथा उत्साहका रुपमा लिन सकिन्छ । रासस