काठमाडाैँ, १८ असोज । हरेक वर्ष दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएपनि नेपालीले सबैभन्दा सस्तो र गुणस्तरीय उपभोग्य वस्तु पाउने भनेको नून देखिएको छ । जुन नून एशियाकै गुणस्तरीय र सस्तो पनि छ ।
छिमेकी राष्ट्र भारतमा प्रति किलो नूनको मूल्य १६ देखि ३० भारतीय रुपैयाँसम्म पर्ने भएपनि नेपालमा त्यो भन्दा गुणस्तरीय नून १८ रुपैयाँमा उपलब्ध गराउँदै आएको साल्टट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झा बताउँछन् । उनी भन्छन्, ‘सीमा नाकासम्म ३० रुपैयाँ र भित्रि सहरमा पुर्याउन ३ रुपैयाँ ढुवानी लाग्छ तर हामीले १८ रुपैयाँमा उपभोक्तासम्म पुर्याएका छौं ।’
सस्तो मूल्यमा उपभोक्ताले नून उपभोग गर्न पाउनुको मुख्य कारण उपभोक्तासम्म वस्तु पुर्याउने कम मार्केट च्यानल भएको साल्टट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख झा बताउँछन् । ‘नूनका लागि कर्पोरेशन–डिलर–रिटेल मात्रै छन् ।’ उनले भने, ‘भारतमा यी च्यानल पाँच भन्दा बढी छन् ।’
एशियामै सस्तो मूल्यमा आम उपभोक्तालाई कर्पोरेसनले गुणस्तरीय नून उपलब्ध गराउँदै आएको हुनाले नै अहिले आयोडिनकै कमिले देखिने रोग नभएको दावी कर्पोरेसनका विभागीय प्रमुख झाको छ । उनले विभिन्न सर्भेका आधारमा नेपालमा आयोडिनको कमिले हुने रोगका विकृति नदेखिएको बताए ।
विश्वका १३० देश मध्ये नेपालमा ९० प्रतिशत बढी घरपरिवारले चाहिने जति मात्रामा आयोडिन युक्त नूनको प्रयोग गर्ने गरेको कर्पोरेसनका विभागीय प्रमुख झाले भनाई छ । उनले नेपालमा प्रयोग गरिने नून एशियाकै सस्तो र गुणस्तरीय भएको पनि दावी गरे ।
साल्टट्रेडिङ कर्पोरेसनले आम उपभोक्तालाई सस्तोमा गुणस्तरीय नून मात्र नभई दुर्गम तथा आंशिक दुर्गमका वासिन्दालाई अनुदान सहयोगमा नून उपलब्ध गराउँदै आएको छ । सरकारले ढुवानी अनुदान सहयोग उपलब्ध गराएपनि कर्पोरेसनले मूल्यमा उपभोक्ताई अनुदान दिने गरेको कर्पोरेशनका विभागीय प्रमुख झाले बताए ।
आम रुपमा प्रति किलो १८ रुपैयाँमा विक्री वितरण गर्ने नून दुर्गम तथा आंशिक दुर्गमका जिल्लाका वासिन्दालाई ९ रुपैयाँमा उपलब्ध गराएको कर्पोरेसनका विभागीय प्रमुख झाले बताए । उनले भने, ‘यसमा सरकारले ढुवानी अनुदान दिएपनि कर्पोरेसनले मूल्यमा अनुदान दिएको छ ।’
कर्पोरेसनले मुलुकका २२ जिल्लामा ३९ वटा स्थानबाट दुर्गम तथा आंशिक दुर्गमका वासिन्दालाई नून उपलब्ध गराएको कर्पोरेसनका विभागीय प्रमुख झाले जानकारी दिए । उनले कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्ला लगायतका १३ जिल्ला पूर्ण र उत्तरी भेगका ९ जिल्लामा आंशिक रुपमा सहुलियतको नून उपलब्ध गराउँदै आएको बताए ।
सरकारले ढुवानी अनुदानका लागि चालु आर्थिक वर्षमा १७ करोड ४९ लाख ९९ हजार रुपैयाँ रकम उपलब्ध गराएको कर्पोरेसनले जनाएको छ । जनसंख्या वृद्धिसँगै सहुलियतमा उपलब्ध गराउने नूनको मात्रामा पनि रहेक वर्ष वृद्धि हुने गरेको छ । आर्थिक ०७१/७२६४ हजार १ सय ६२ क्वीन्टल, आर्थिक वर्ष ०७२/७३ मा ७६ हजार २ सय क्वीन्टल नून सहुलियतमा उपलब्ध गराएको कर्पोरेसनले चालु आर्थिक वर्षमा ९४ हजार २ सय ५६ क्वीन्टल नून उपलब्ध गराउने योजना रहेको जनाएको छ ।
प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार ०८:५२