काठमाडौं, १६ असोज- खाद्य संस्थानले दसैँका लागि जिउँदो खसी, बोका र च्यांग्राको मूल्य शनिबार तय गरेको छ । संस्थानका महाप्रबन्धक डा. शिवहरि श्रेष्ठका अनुसार २५ किलोभन्दा बढी तौलका खसी–बोकाको मूल्य प्रतिकिलो चार सय ५० रुपैयाँ निर्धारण गरिएको छ। ‘२५ किलोभन्दा कम तौलका खसी–बोकाको मूल्य प्रतिकिलो चार सय ४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने ।
त्यस्तै संस्थानले च्यांग्राको मूल्य ६ सय ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरेको उनले जानकारी दिए । संस्थानले मुस्ताङबाट च्यांग्रा ल्याएको छ ।
शनिबार सात सय ४० च्यांग्रा आएको संस्थानका वरिष्ठ सहायक केदार कार्कीले जानकारी दिए । मूल्य तोकिएकाले आइतबार दिउँसो २ बजेबाट च्यांग्रा बिक्री खुला गरिने संस्थानले जनाएको छ ।
राजधानीमा एक हजार पाँच सयवटा च्यांग्रा ल्याउने लक्ष्य राखे पनि संस्थानले एक हजार चार सय ८० वटा मात्रै खरिद गर्न सकेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए ।
आज नभए भोलिबाट खसी बिक्री संस्थानले आइतबार दिउँसोबाट खसी–बोकाको पनि बिक्री सुरु गर्ने तयारी गरेको छ । लहानबाट दुईवटा ट्रकमा चार सय खसी–बोका शनिबार राति नै काठमाडौंका लागि हिँडिसकेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए ।
‘लहानबाट हिँडाइएका खसी समयमै आइपुगे आइतबार दिउँसोबाट बिक्री खुला गर्छौँ, नत्र सोमबार बिहानबाट सुरु हुन्छ,’ उनले भने । श्रेष्ठका अनुसार हेटौँडाबाट दुई सय ३० र दाङबाट दुई सय खसी–बोका पनि काठमाडौंका हिँडाइसकिएको छ । संस्थानले यसपटक एक हजार पाँच सय खसी–बोका मात्रै बिक्री गर्दै छ ।
व्यवसायीले चार सयदेखि साढे चार सयमा बिक्री गर्दै उपत्यकामा खसी–बोका आयात र बिक्री गर्ने व्यवसायीको संगठन चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकका अनुसार जिउँदो खसीको मूल्य प्रतिकिलो चार सय रुपैयाँदेखि चार सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।
‘शनिबार जिउँदो खसी चार सय रुपैयाँदेखि बिक्री सुरु भएको छ,’ पाठकले भने, ‘अधिकतम् मूल्य चार सय ५० रुपैयाँ पुग्यो ।’ उनले एकैदिनमा मूल्य परिवर्तन हुने गरेको बताउँदै भने, ‘खसी–बोकाको मूल्य स्थिर हुँदैन । दिनहुँ परिवर्तन भइरहन्छ ।’ उनले यसपटकको दसैँमा यही मूल्य कायम रहने जानकारी पनि दिए ।
व्यवसायीले विभिन्न जिल्ला र भारतको सीमावर्ती बजारबाट खसी ल्याई कलंकीस्थित खसीबजार, टुकुचा र बिजुलीबजारमा राखेर बिक्री गर्दै आएका छन् । त्यस्तै कोटेश्वर, बल्खु, गोगंबुलगायतका साना बजारबाट समेत बिक्री हुँदै आएको छ । व्यवसायीले स्वदेशका उदयपुर, सिन्धुली, खोटाङ, सिरहा, सल्यान, दाङ, रुकुम, बाँके, कैलाली, जाजरकोटलगायतका जिल्लाबाट धेरै खसी आउने गर्छ ।
तर, काठमाडौंमा भारतीय खसी–बोकाको खपत बढी छ । दसैँलाई भारतीय खसीको भर यसपटक काठमाडौंमा खपत हुनेमध्ये ८५ प्रतिशत खसी भारतबाट आयात हुने व्यवसायीले बताएका छन् । गत वर्षको दसैँमा व्यवसायीले ३२ हजार खसी–बोका राजधानीमा बिक्री गरेका थिए । त्यसमध्ये २० हजार अर्थात् करिब दुईतिहाइ भारतीय खसी थिए । तर, यसपटक बढी भारतीय खसी–बोका खपत हुने अनुमान छ ।
प्रकाशित मिति: १६ आश्विन २०७३, आईतवार ०६:५२