इलाम, १५ असोज । इलामका विभिन्न स्थानमा खुलेका ललीपप र बम्बइसन उद्योगमा ग्रामीण क्षेत्रका महिलाले रोजगारी पाएका छन् । बम्बइसन र ललीपप कोसेलीका रूपमा माग बढ्न थालेपछि उद्योग खुल्ने क्रमसँगै महिला रोजगार बन्न थालेका हुन् ।
फिक्कल– पशुपतिनगर, नेपालटार– इलाम सडक आसपासमा बम्बइसन र ललीपप बनाउने महिलाले सञ्चालन गरेका उद्योग प्रशस्त खुलेका छन् । उद्योगसँगै यहाँका दर्जनाँै महिलाले रोजगारी पाएका छन् ।
महिलाले दिगो र भरपर्दो रूपमा काम गर्ने भएकाले सञ्चालकले महिलालाई नै काम दिने गरेका छन् । अहिले पशुपतिनगर क्षेत्रमा खुलेका आधादर्जन भन्दा बढी ललीपप उद्योगमा स्थानीय महिलालाई काम गर्न भ्याइनभ्याई छ । नेपालीको महान चाड दसँैं, तिहारको आगमनसँगै दूधबाट बनाइने ललीपप (मिठाइ) स्थानीय, तराईका बजार, राजधानी र भारतीय बजारमासमेत राम्रो माग आउन थालेको छ ।
उद्योगले काम हेरी मासिक रु चार हजारदेखि रु छ हजारसम्म पारिश्रमिक दिने गरेका छन् । कोसेली, खुवसुरत, कञ्चन, अप्सरालगायत ललीपप उद्योग त्यस क्षेत्रमा सञ्चालित छन् । यसबाहेक अहिले नेपालटार र रक्से, बिब्ल्याँटेलगायतका क्षेत्रमा समेत ललीपप मिठाइ बनाउने उद्योग खुलेका छन् ।
ललीपप उद्योगबाट आफूलाई पनि आम्दानी हुने र स्थानीय महिलालाई समेत घर पायकमै रोजगारी मिल्ने एक उद्योगी दिनेश गुरूङ बताउछन् । ‘यहाँ उत्पादन गरेको ललीपप बढिजसो माग र बाँकी आफैँंले बिक्री गर्छौ’ उनी भन्छन् । इलाममा खुलेका यस्ता कोसेली उद्योगको उत्पादन पर्यटकको चहलपहल बढी हुने इलामको सदरमुकाम, कन्याम, फिक्कल, पशुपतिनगर, माइपोखरीलगायतका क्षेत्रमा बिक्री हुने गरेको छ । ३० रूपैयाँदेखि ५०० सम्मको प्याकेटमा पाइने यस्ता उत्पादन पर्यटकबाहेक पसलबाट समेत बिक्री हुने गरेको छ ।
घरको काम सकेर फुर्सद भएको समयमा साथीभाइबीच गफगाफ गर्दै सजिलै ललीपप बनाउन सकिने भएकाले पनि दुई–चार पैसा जोहो गर्नका लागि समस्या नहुने ललीपप उद्योगका महिला कामदार बताउँछन् ।
मेची राजमार्गको बरबोटेस्थित सोनी होटल छेउमा घुम्ती पसल चलाउँदै आएकी पूर्णिमा राजवंशी आफ्नो पसलबाट सबैभन्दा बढी ललीपपनै बिक्री हुने गरेको बताउछिन्। गाईको दूधबाट बनिने भएकाले खाद्य परिकारमा ललीपप र बम्बइसन राम्रो हुने उद्योगी बताउँछन् ।
घरेलु तथा साना उद्योग विकास समितिका अनुसार इलाममा करिब दुई सय भन्दा बढी ललीपप तथा बम्बइसन उद्योग रहेका छन् । रासस