मोरङ १४ असोज । मोरङको दुर्गम गाविस जाँतेका बासिन्दाले सामुदायिक वनको सहभागितामा बाटाघाटा निर्माण र गाउँमा बिजुलीसमेत ल्याउन सफल भएका छन् ।
सामुदायिक वनको माध्यमबाट गाउँको विकास हुनसक्छ भन्ने थाहा पाएका स्थानीयवासीले सामुदायिक वनबाट हुने आम्दानीको निश्चित प्रतिशत विकास निर्माणमा खर्चिएकाले टोलटोलमा ग्राभेल विद्युत् सडक पुगेका हुन् । वनकै आम्दानीले स्थानीय ठाउँमै दुईवटासम्म उच्च मावि सञ्चालन गरेका छन् । सामुदायिक वनकै मुख्य लगानीमा गाउँमा विद्युत् पु¥याएका छन् ।
उक्त गाविसमा कुल १५ वटा सामुदायिक वन समूह छन् । इलाका वन कार्यालय जाँतेका सहायक वन अधिकृत नारायण यादव वन उपभोक्ता समितिले गाउँको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउछन् । उनले सामुदायिक वनकै कारण आज जाँते गाविसको मुहार फेरिएको बताए । २०५६ सालमा गठन भएको सदाबहार सामुदायिक वन उपभोक्ता समिति जाँते–८ ले स्थानीयवासीको आर्थिकस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी जितबहादुर माझीको भनाइ छ ।
वन समूहका अध्यक्ष विष्णु पौडेलका अनुसार सबै वन समूह मिलेर उपभोक्तालाई १२ वटा समूहमा विभाजन गर्दै प्रत्येक समूहलाई तरकारी खेती र पशुपालनका लागि ४० हजारको दरले सहजरुपमा ऋण उपलब्ध गराउँदै आएको छ । अध्यक्ष विष्णु पौडेलका अनुसार प्राप्त आम्दानीको २५ प्रतिशत वनको विकासमा, ३५ प्रतिशत गरिबी निवारण, १० प्रतिशत संस्थागत खर्च र बाँकी ग्रामीण क्षेत्रको विकासमा खर्च गर्दै आएको बताए ।
जाँते–९ को वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समितिले विद्युतीकरण, बाटो निर्माण, गरिबी निवारण र वन व्यवस्थापनमा डेढ करोड बढी रकम लगानी गरेको छ । सो गाविसको खोलीटार, गुप्ती, धानखेती बाह्रगोठे, लालझोडा, बेलटार, साम्लिङ तथा जाँते–२ र जाँते–१ का सामुदायिक वन समूहको समेत गाउँको विकास निर्माणमा महत्वपूर्ण भूमिका रहेको स्थानीयवासी बताउँछन् । रासस