काठमाडौ १४ असोज- नेपाल विद्युत् प्राधिकरणलाई विभाजन गरी बन्ने विद्युत् उत्पादन कम्पनीको लगानी प्रस्ताव बिहीवार व्यवस्थापिका–संसद्मा पेश भएको छ । कम्पनी खोल्ने निर्णय यसअघि नै भइसकेको थियो । कम्पनीमा कसले कति लगानी गर्ने भन्ने प्रस्तावमात्रै अहिले पेश भएको ऊर्जा मन्त्रालयअन्तर्गतको कानून महाशाखाका सहसचिव कोशलचन्द्र सुवेदीले बताए । ‘ऊर्जा मन्त्रालयदेखि अतिविपन्न वर्गसम्मको कम्पनीमा लगानी हुनेगरी प्रस्ताव गरिएको छ,’ उनले भने, ‘संसद्को आगामी बैठकले प्रस्ताव पारित गर्नेछ ।’आर्थिक अभियान दैनिकमा खबर छ ।
कुल २ अर्ब रुपैयाँ चुक्ता पूँजीमा खुल्ने कम्पनीले केवल विद्युत् उत्पादन गरी विक्री गर्नेछ । यसका लागि ऊर्जा मन्त्रालयले कम्पनीको प्रबन्धपत्र र नियमावली तयार पारी दर्ताका लागि अर्थ मन्त्रालयमा समेत पठाइसकेको छ । दर्ता प्रक्रिया सकिएलगत्तै कम्पनी स्थापनाको प्रक्रिया अघि बढ्ने सहसचिव सुवेदीले बताए । ‘यो बीचमा दशैंतिहारको बिदा नपरेको भए चाँडै नै काम अघि बढ्थ्यो । तैपनि कात्तिकसम्ममा कम्पनी शुरू हुन्छ,’ उनले भने ।
कम्पनीको अधिकृत पूँजी रू. २० अर्ब र तत्काल जारी पूँजी रू. १० अर्ब रहने व्यवस्था गरिएको छ । कम्पनीमा सबैभन्दा बढी सर्वसाधारणको २३ प्रतिशत शेयर रहने व्यवस्थासहितको प्रस्ताव संसद्मा पुगेको हो । त्यसैगरी सबैभन्दा कम राष्ट्रिय बीमा संस्थान र अति विपन्न नागरिकको २/२ प्रतिशत शेयर रहनेछ ।
लामो समयदेखि रोकिएको प्राधिकरणको विद्युत् उत्पादन, प्रसारण र वितरणलाई खण्डीकरण गर्ने काम अब भने अघि बढ्ने सङ्केत देखिएको छ । अबको १ हप्ताभित्र राष्ट्रिय विद्युत् प्रसारण कम्पनीको पदपूर्तिको सूचना जारी गरिने सहसचिव सुवेदीले जानकारी दिए । ‘दशैंपछि १ महीना जतिमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति भई अन्य प्रक्रिया पनि अघि बढ्छ,’ उनले भने । प्राधिकरणले गर्दै आएको प्रसारण लाइनको कामका लागि कम्पनी यसअघि नै स्थापना भइसकेको छ । दुई कम्पनी स्थापनापश्चात् बाँकी रहेको वितरणको काम मात्रै हालको विद्युत् प्राधिकरणको जिम्मामा रहनेछ ।
कम्पनीहरूको मोडालिटी बन्न बाँकी रहेको साथै सम्पूर्ण लगत तथा हस्तान्तरणलगायत काम सकिन भने लगभग ५ देखि ७ वर्ष लाग्नसक्ने सुवेदी बताउँछन् ।
प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार ०६:३६