काठमाडौं, १४ असोज यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् ।
दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ । तर, अधिकांश यातायात व्यवसायी संघले टिकट सकिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराइसकेका छन् ।
टिकट काट्न बसपार्क जानेहरू रित्तो हात फर्कने गरेका छन् । क्षमताभन्दा धेरै यात्रु राख्न कडाइ गरेपछि यातायात व्यवसायीले थोरै मात्र बस थपेर सञ्चालन गर्न लागेका छन् । क्षमताभन्दा धेरै यात्रु बोक्न दिए मात्र थप टिकट बिक्री गर्ने अडान व्यवसायीहरूको छ ।
दुर्घटना बढेपछि यातायात व्यवस्था विभागले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न दिएको छैन । त्यसको विरोधमा यातायात व्यवसायीहरूले दशैंमा धेरै बस सञ्चालन गर्न नमानेका हुन् । सिट क्षमताअनुसार मात्र चलाउँदा उपत्यका फर्कंदा यात्रु नहुने हुँदा आफूलाई घाटा हुने उनीहरूको दाबी छ ।
‘कि क्षमताभन्दा धेरै यात्रु राख्न पाउनुप-यो कि बसलाई इन्धन हालिदिनुपर्छ भन्ने उनीहरूको माग छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले नाफा मात्र नखोज्नोस् दशैंको बेला सेवा पनि गर्नुपर्छ भनेका छौं । छलफल भइरहेको छ ।’नयाँ पत्रिका दैनिकमा खबर छ ।
पश्चिमतर्फ जाने बस टिकट सकिए
महेन्द्रनगर, धनगढी, बाँके, बुटवल जाने बसका टिकटहरू सकिएको व्यवसायीले बताएका छन् । पूर्व जाने बसहरूको पनि सर्वसाधारणले सहज रूपमा टिकट पाएका छैनन् । समस्या व्यवस्थापनबारे छलफल भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला बताउछन् ।
यातायात मन्त्रालयमा शुक्रबार अहिले देखिएको समस्याबारे छलफल हुँदैछ । सडक समस्या तथा नयाँ बस नथपेकाले पनि टिकटको अभाव भएको हो । गत वर्षको नाकाबन्दीमा व्यवसायीले आर्थिक समस्या झेलेकाले नयाँ बस थप्न समस्या भएको सिटौलाले बताए ।
मुग्लिन–नारायणघाट सडकखण्ड पनि एउटा कारण भएको उनको भनाइ छ ।
१६ दिनलाई सबैतिर रुट परमिट
व्यवसायीकै दबाबमा सरकारले १५ देखि ३० असोजसम्म सबै जिल्लाका सडकमा अस्थायी रुट परमिट दिने निर्णय गरेको छ । जभाभावी परमिट दिँदा दुर्घटना बढ्ने ट्राफिक प्रहरीको चिन्ता छ । तर, दसैँमा सर्वसाधारणलाई मर्का पर्न नदिन परमिटको निर्णय भएको हो । परमिट दिँदा पनि व्यवसायीले क्षमताभन्दा बढी बोक्न पाउनुपर्ने भन्दै अप्ठेरो पारेका छन् ।
प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार ०६:३३