बैतडी, १३ असोज । भारत जान लागेका दुई बालकलाई प्रहरीले आज बैतडीबाट उद्घार गरेकोे छ ।
उद्घार गरिनेमा बैतडी भूमिराज–८ खडायत गाउँका गोपाल खडायतका १४ वर्षीय छोरा रमेश खडायत र पिरजन खडायतका १५ वर्षीय छोरा रोशन खडायत रहेका जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।
उद्घार गरिएका दुवैजनाका घरपरिवारलाई खबर गरी जिम्मा लगाउने तयारी भइरहेको उनले बताए । प्रहरीले उनीहरुलाई आज बैतडी सदरमुकाम गोठलापानीमा रहेको बसपार्क क्षेत्रबाट उद्घार गरेको हो ।
उनीहरुलाई प्रहरीको टोलीले शङ्का लागेर सोधपुछ गर्दा भागेर भारत जान लागेकाले उद्घार गरिएको जनाएको छ ।
यसअघि बुधबार पनि भारत जान लागेका २१ जना बालबालिकालाई प्रहरीले आज बैतडीबाट उद्घार गरेको छ ।
उद्घार गरिएका मध्ये बैतडी घर भएका पाँच बालकलाई आफन्तको जिम्मा लगाइसकेको र बझाङ घर भएका १६ बालकलाई आज परिवारको जिम्मा लगाइने जिप्रका, बैतडीले जनाएको छ ।
बझाङ घर भएका बालकलाई बैतडी प्रहरीले आज बझाङ प्रहरीको जिम्मा लगाई घरपरिवारको जिम्मा लगाउने तयारी गरेको हो ।
यस्तै प्रहरीले असोज ३ गते पनि बैतडीको सीमा नाका झुलाघाट भएर भारत जान लागेका बेला दुई बालकसहित तीनजनाको उद्घार गरेको थियो ।
प्रहरीले असोज महिनामा मात्रै बैतडीबाट २६ बालबालिकाको उद्घार गरिसकेको छ । पछिल्लो समय बैतडीमा विद्यालय छोडेर भारत जानेको सङ्ख्या बढ्दै गइरहेको छ । रासस