सिन्धुपाल्चोक, १३ असोज । धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणमा नोपली सेना सहयोगी बनेको छ । बस्ती निर्माणमा सेनाले श्रमदान गरी सहयोग गरेको हो ।
सेनाको टोलीले श्रमदानका स्वरुप ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेको नेपाली सेनाको टोली आज बिदा भएको छ । नेपाली सेनाको टोलीले ५५ दिन बस्ती निर्माणमा श्रमदान गरेको थियो ।
नेपाली सेनाले श्रमदानका लागि २६ बाहिनी अड्डा अन्र्तगतको गोरखबहादुर गण चौतारा, विष्णुदल गण धुलीखेल, विरदल गण भक्तपुर र सत्रुभञ्जन गुल्म मेलम्चीका जवान खटाएको थियो ।
पूर्वनिर्धारित योजना अनुरुप समयमा नै आफ्नो काम सम्पन्न गरेर गिरान्चौरबाट बिदा भएको उपसेनानी अजयकुमार लिंगथेपले जानकारी दिएका छन् । उनले ५५ दिनमा नेपाली सेनाका ५० जवान दैनिक रुपमा खटेर ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेको बताए ।
नेपाली सेनाले बस्ती निर्माणमा गरेको श्रम सहयोगप्रति फाउण्डेशनले आभार व्यक्त गरेको छ । भूकम्प पिडितहरु छाप्रोमा बस्दै गर्दा एकिकृत बस्ती बनाउने हाम्रो आँटलाई पुरा गर्न नेपाली सेनाले खेलेको भूमिकाप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले खुशि व्यक्त गरेका छन् । उनले भने, “सेनाको टोलीले ६ वटा घर र सामुदायिक भवन निर्माण गरिदिने वचन दिएको थियो, त्यो निर्धारीत समयमा नै पुरा भएको छ । अन्य बाँकी घर निर्माण पनि अन्तिम चरण पुगिसकेको छ” ।
सैनिक श्रीमति संघले १४ लाख रुपैयाँ आर्थिक सहायता गर्नु र नेपाली सेनाले हामीले गरेको डिजाइन अनुसारका घर बनाएर सहयोग गर्नु गौरवको कुरा रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।
प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार १६:३६