काठमाडौं, १३ असोज – देशभरि दुर्घटना बढिरहेका वेला यातायात व्यवसायीले भने नियम नमान्ने भन्दै आन्दोलन सुरु गरेका छन् ।काभ्रेमा रुट परमिटविना नै सवारी चलाउन पाउनुपर्ने भन्दै यातायात व्यवसायीले सडकमै सवारी तेर्साएर आन्दोलन गरेका छन् भने काठमाडौंमा ठगी गर्दा कारबाही गरेको भन्दै ट्याक्सीचालकहरू आन्दोलनमा उत्रिएका छन् ।
यातायात व्यवसायीका अगुवाहरूले सिट संख्याभन्दा धेरै यात्रु राख्न नपाउने हो भने सरकारले निःशुल्क इन्धन दिनुपर्ने हास्यास्पद माग राखेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
जथाभावी रुट माग्दै यातायात ठप्प
गत ३० साउनमा काभ्रेको कोसीपारिमा २७ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनापछि जिल्लामा रुट परमिट नलिई सवारी चलाउन रोकियो । कच्ची सडकहरूमा यात्रुबाहक सवारी चलाउँदा दुर्घटना बढेको भन्दै सरकारले काभ्रेलगायत विभिन्न जिल्लामा रुट परमिटविना सवारी चलाउन रोक्यो । तर, रुट परमिटविनै सवारी चलाउनुपर्ने माग राखी बुधबार बिपी राजमार्ग ठप्प पारियो । जसका कारण हजारौँ यात्रु मर्कामा परे ।
कारबाही तीव्र भएपछि ट्याक्सीको आन्दोलन
गत वैशाखदेखि ट्राफिक प्रहरीले उपत्यकामा धेरै भाडा असुल्ने तथा मिटरमा चल्न नमान्ने ट्याक्सीविरुद्ध कारबाही तीव्र बनायो । यातायात व्यवस्था विभागले पनि पहिलेभन्दा दोब्बर जरिवाना गर्न थाल्यो । त्यसपछि ट्याक्सी व्यवसायीहरू पनि आन्दोलनमा उत्रिए । भाडा बढाउनुपर्ने मागको आवरण दिएर ट्याक्सीमाथि भइरहेको कारबाहीको विरोध गर्दै उनीहरूले मंगलबार राजधानीमा ट्याक्सी ¥याली निकाले ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालका अनुसार वैशाखयता यात्रुसँग बढी भाडा असुल्ने तीन हजार ट्याक्सी कारबाहीमा परेका छन् । यात्रु ठग्नेविरुद्ध प्रहरी महाशाखाले अभियान नै चलाएर कारबाही थालेपछि पाँच महिनामा उपत्यकामा चल्ने नौ हजार ट्याक्सीमध्ये ३३ प्रतिशतभन्दा धेरै कारबाहीमा परे । सो तथ्यांकले एक–दुई ट्याक्सीले होइन, संगठित रूपमै अधिकांश ट्याक्सीले यात्रुमाथि ठगी गर्ने गरेको देखियो । यातायात व्यवस्था विभागले पनि पहिला दुई हजार रुपैयाँ जरिवाना गर्ने गरेकोमा पाँच हजार रुपैयाँ जरिवाना लिन थाल्यो । त्यसपछि ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
मन्त्रिपरिषद्ले केही दिनअघि यातायात व्यवस्था नियमावली संशोधन गर्दै क्षमताभन्दा धेरै यात्रु बोके सवारीसाधनको रुट परमिट रद्द हुने व्यवस्था ग¥यो । तर, निर्णयको विरोधमा रहेका व्यवसायीले बुधबार क्षमताभन्दा धेरै यात्रु बोक्न नदिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
उनीहरूले यातायात व्यवस्था विभागमा भएको छलफलमा सिटसंख्याअनुसार मात्र सवारीसाधन चलाउने भए सरकारले नै इन्धन दिनुपर्ने मागसमेत राखेका थिए । क्षमताभन्दा धेरै यात्रु बोकेकै कारण धेरै यात्रुबाहक सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । तर, व्यवसायीहरूले भने सिट क्षमताअनुसार मात्र यात्रु बोकेर सार्वजनिक यातायात चलाउन नसक्ने भन्दै सरकारले इन्धन दिए चलाउने र नदिए बन्द गर्ने धम्की दिएका छन् ।
प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार ०६:५९