जाजरकोट, ८ असोज । जाजरकोट प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराको निर्देशनमा गत २३ भदौ देखि जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने अभियान नै चलाइएको हो ।
अहिले सम्म जिल्लाका भेरे, राङ्गसी, कार्कीगाँउ, झाप्रा, करुवा, डाँडाँगाँउ, कल्पत लगायतका गाँउका ८५ जनाको १ सय ५९ रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट गरिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी युनिटबाट परिचालन गरेर ठुलो परिमाणको गाँजा खेती नष्ट गरिएको प्रहरी निरीक्षक बोहराले बताएका छन् । बषौं देखि गाँजा खेती हुने र ठुलो परिमाणमा चरेस उत्पादन हुने यस जिल्लामा तस्करको समेत ठुलो चलखेल हुने गर्दथ्यो ।
प्रहरीले पनि थाह नपाए जस्तो गर्दथ्यो तर यस अघिका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दानवहादुर मल्लले अफिम खेती पुरै नष्ट गरिदिएका छन् भने उनी सरुवा भएर गएपछि निमित्तको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक बोहराले गाँजा खेती नष्ट गर्ने अभियान चलाएका छन् ।
लागु औषधको रुपमा लिइने गाँजा र अफिम खेती गर्न तस्करले नै उक्साउने गरेको पाइएको प्रहरीले जनाएको छ । अफिमको त विउ र आवश्यक औजार समेत सुरुमै दिने गरिएको पाइयो, प्रहरी निरीक्षक वोहराले भने, गाँजा खेती गर्ने किसानलाई तस्कर र ब्यापारीले चरेस उत्पादनका लागी अग्रिम पेश्की रकम समेत दिने गरिएको पाइयो ।
यहाँको अफिम र चरेस काठमाडाँैका साथै भारत हुँदै विश्वका विभिन्न मुलुकमा तस्करले निर्यात गर्ने गरेको प्रहरीको भनाइ छ । त्यसका साथै चरेस स्कुले विद्यार्थीले समेत सेवन गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
स्थानीयले चरेश र अफिमलाई आम्दानीको स्रोतको रुपमा लिएको र नष्ट गर्दा पिडा महसुस गरेपनि यो खेतीले दिर्घकालिन रुपमा उनीहरुकै सन्तानका लागि घातक हुने प्रहरीको भनाइ छ । आम्दानीका अन्य उपाय अपनाउन खेती गर्ने किसानलाई प्रहरीले आग्रह गरेको छ । अफिम खेती हुन थालेको धेरै बर्ष नभएपनि गाँजा खेती भने धेरै बर्ष पहिले देखि हुने गरेको र जिल्लाबाट बर्षेनी २० लाख बढीको चरेस निर्यात हुने गरेको प्रहरीको अनुमान छ ।
एक हजार देखि तीन हजार मिटरको उचाईं आसपासका किसानले पाखोबारीमा गाँजा खेती गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीको गस्ती टोली नजाने जंगल छेउको पाखो जग्गामा उक्त खेती हुने गरेको छ । अन्य खेती भन्दा आम्दानी पनि धेरै हुने र खासै मेहिनत गनु नपर्ने भएकाले यस तर्फ किसानको आर्कषण बढेको हो ।
गाँजा खेती गर्नेले नै चरेस बनाउने र उक्त चरेस ब्यापारीले घरमै आएर किन्ने गरेको खुल्न आएको छ । अवैद्य चरेस कारोबारी रोक्न गाजा खेती नष्ट अभियान संचालन गरेको प्रहरी निरीक्षक सुवास भट्टले बताए बताए । पहिलो पटक गाँजा खेती गर्नेलाई सामान्य चेतावनी पछि छाडेको उनले बताए ।
भदौ र असोजमा चरेस बनाउनका लागि परिपक्व हुने गर्दछ । गाँजाबाट अचार खाने भाँगो समेत उत्पादन गरेर विक्री गर्ने गरिन्छ । यस जिल्लामा चरेसको कारोबारी बढ्न थाले पछि गाँजा खेती नष्ट गर्न जरुरी भएको निरीक्षक भट्टले बताए । उनले भने, ‘कतिपयले भने अवैध खेती भन्ने थाह नपाएर पनि लगाउने गरेको पाइयो ।’
प्रहरीले आर्थिक बर्ष २०७२÷७३ मा चरेस र अफिम कारोवारमा संलग्न ९ जना विरुद्ध मुद्दा चलाएको जनाएको छ । ती मध्ये २ जना जेलमा रहेको ४ जना तारेखमा छुटेको र ३ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार १८:५९