जाजरकोट, ८ असोज । पदपूर्ति नहुँदा जिल्लाको एकमात्र नगरपालिकाको काम प्रभावित भएको छ । भेरीमालिका नगरपालिकामा रिक्त दरवन्दीमा पदपूर्ति नहुँदा नगरपालिकाबाट प्रवाह गरिने सेवा प्रभावित भएको हो ।
जिल्ला सदरमुकाममा स्थापना भएको समय एक वर्ष वितिसक्दा पनि नगरपालिकामा सिर्जना गरिएका दरबन्दीमा पदपूर्ति नहुँदा नगरपालिकाले निर्धारण गरेका विभिन्न कर असुली, नक्सा पासलगायतका काममा समस्या परेको हो । त्यसैगरी प्रशासनिक कर्मचारी दरबन्दी अभावका कारण वडा कार्यालयवाट प्रवाह गरिने सेवाहरु नगरपालिका कार्यालयवाटै प्रवाह गरिरहनु परेको कार्यकारी अधिकृत रामप्रसाद शर्माको भनाई छ ।
४ वटा वडाको संयुक्त वडा कार्यालय सञ्चालन गर्नुपर्ने प्रावधान भएता पनि १३ वटा वडा रहेको नगरपालिकामा हालसम्म एकजना मात्र स्थायी वडा सचिव रहेको अधिकृत शर्माले जानकारी दिए । कार्यालयका अनुसार निजामतितर्फ एक कार्यकारी अधिकृत, एक नायव सुव्वा, एक लेखापालको दरवन्दी रहेको नगरपालिकामा हालसम्म नायवसुब्वाको दरवन्दी खाली छ ।
त्यसैगरी प्राविधिक दरवन्दी तर्फ एक ईन्जिनियर, २ ओभरसियर, २ सव ओभरसियर र एक सर्वेक्षक दरवन्दी रहेको नगरपालिकामा १ ईन्जिनियर र ३ जना सव ओभरसेर वाहेकका अरु दरवन्दी रिक्त रहेका छन् । प्रशासन तर्फ प्रशासन पाँचौं नासु २ दरवन्दी खाली रहेका छन् भने, प्रशासन चौथो ९ दरवन्दीमा १ स्थायी र ३ अस्थायी वाहेक ५ दरवन्दी खाली रहेका छन् । त्यसैगरी ५ जना कार्यालय सहयोगी र १ जना भान्से गरि ६ दरवन्दीमा ५ कार्यालय सहयोगीको पदपुर्ति भएको छ ।
नगरपालिकाको श्रोत अभावका कारण अन्य पदपूर्ति गर्न नसकिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिका अझै पनि वाल्यकालिन अवस्थामै रहेको कार्यकारी अधिकृत राम प्रशाद शर्माको भनाई रहेको छ । नगरपालिकामा रिक्त दरवन्दीको पदपुर्तिका लागि नगरपालिका वोर्डले पदपूर्ति समितिको अध्यक्षमा पुर्व शिक्षक केशव जंग शाहलाई हालै मनोनयन गरेपछि कर्मचारी नियुक्तीको बाटो खुले पनि नगरपालिकाको अन्तरिक आम्दानी न्युन हुँदा कर्मचारी नियुक्तीमा समस्या देखिएको छ ।
प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार १६:०५