माननीय स्वास्थ्यमन्त्री
गगन थापा, ज्यू
नमस्कार ।
खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर हस्पिटलले मृत्युको पुर्जा दिएर घरमा बसेर मृत्यु कुर्न भन्यो । त्यो दिन, मेरो यो उन्नाइस वर्षे कलिलो मन कस्तो भयो होला । हजुरलाई के भनुँ म । तर म त्यस दिन खुब रोए । धुरूधुरू रोए । नरोएर के गरू म ? मेरो मुटु यति शोकाकुल र छियाछिया भएको थियो कि । त्यो कुरा शब्दमा कसरी लेखु म ? बस रूने बाहेक मसँग केही उपाय थिएन र अहिले पनि छैन ।
मलाई हरेक मानिसलाई जस्तै बाच्ने, खेल्ने, रमाउने, घुम्ने अरू के के रहरहरू थिए । तर जब हस्पिटलबाट मौखिक मृत्युको पुर्जी आयो । यसपछि म अबको पुग नपुग तीन महिना बाँच्छु अरे । यो कुराले हर रात हर दिन मेरो मुटु घोचेको छ । म धेरै के पो बोल्न सक्छु र ?
माननीय मन्त्री ज्यु, त्यो दिन वा मेरो मरणको दिन सम्झन्छु । त्यस दिन मेरा सारा आफन्त कति रोलान । कति भक्कानिएलान । म कल्पनै गर्न सक्दिन । मुख्य कुरा आफुले खाइ नखाइ यो उन्नाइस बर्षसम्म हुर्काउने मेरो बा–आमा कति रोलान् । उनीहरूलाई सम्झाउने मानिसहरूले के भनेर सम्झाउलान् । म सोचिरहेको छु ।
मलाई थाहा छ । म नेपालको कर्णाली भनिने भुगोलको जुम्ला जिल्लामा जन्मिए । हुर्के । जहाँ अनगिन्ति दुखहरू छन् । अभावहरू छन् । जुन दुख र अभावहरूले म जस्ता नागरिकहरूले केही न केही दुखहरू पाइरहेका हुन्छ । जस्तो कि म जब क्यान्सर रोगी भए । त्यसपछि आफैले अुभव गरे । दुर्गम हर नागरिकका लागि कति पिडादायिक भुगोल रहेछ भनेर । अनि जब आफु बाँच्नका लागि हर मानिससँग आलाप विलाप गर्न थाले । अनि बुझे मानिसका लागि दुर्गम शत्रु रहेछ भनेर । जे होस् मैले अनुभव गरेका कुरा सत्य छन् र त त्यही कुराको प्रेरणाले आज तपाईलाई मेरो मृत्युबारे जानकारी गराउन लागिरहेको छु । अनि यो पत्र सकिनसकि लेखिरहेको छु । कृपया मलाई माफ गर्नुस् है ।
मैले सानैदेखि तपार्इंको बारे सुनेको छु । तपाईंको बारे पढेको छु । तपाईं जस्ता अरू पनि धेरै मानिसहरू हुँदाहुन् यो देशमा । तर नचिने पनि तपाईंलाई नजिकको जस्तो लाग्यो । सम्झे तपाईंले कुरा बुझ्नु हुन्छ मेरो । अनि यो चिठी लेखेको हुँ । खास तपाईंलाई पनि मेरो मृत्युको खबरबारे जानकारी गराएको हुँ यसै पत्रबाट ।
मलाई थाहा छ । म मेरै मृत्यु मर्न लागेको छु । तर यति सानो उमेरमा म मर्न लागे । त्यसकुराले म साह्रै दुखी छु । माननीय मन्त्री ज्यू, म पनि यही देशमा जन्मे । यहि देशमा हुर्के । जहाँ तपाईं पनि जन्मनु भो र हुर्कनु भो । तर तपाईंलाई एउटा कुरा सोध्न मन छ । तपाईं बिरामी हुँदा वा विरामी लगेर हस्पिटल जाँदा हस्पिटलमा कति माया गर्छन् ? कति सम्मान गर्छन् ? तपाईंलाई याद होला । अनुभव होला । तर मलाई त त्यस्तो कुराको अनुभवै भएन । यादै भएन । र, त हजुरलाई मेरो मृत्युको जानकारी दिइरहेको छु ।
खासमा मैले धेरै दुख पाए । धेरै आपत खेपे । पाएको दुःख सम्झिदा लाग्छ । म यो देशको नागरिक हैन जस्तो । मेरो आँखाले कति हो कति बेथितिहरू देखे । त्यो बेथितिको सिकार म पनि भए । र, सम्झे बेथितिहरूले म जस्ता अरूहरू पनि दिनदिनै मरिरहेका होलान् । अनि मनमनै सम्झेर तपार्इंलाई जानकारी गराउन मन लाग्यो । चिठ्ठी लेखिरहेको छु ।
हुन त म एक दिन मर्ने नै थिए । तर केही समय चाँडै नै मर्ने भए । यसैले म दुखी छु भन्नै पर्याे । हो म दुखी छु । अनि म मर्नु पहिले तपाईंलाई भेटेर केही कुरा गर्न चाहान्छु । खासमा हाम्रो देशमा लापरबाही किन हुन्छ ? म मर्नुअघि यही जान्न चाहन्छु ।
माननीय मन्त्री ज्यु । हुन त म बाँचेर पनि देशको लागि के गर्न सक्थे होला र । तर म मर्ने पक्का भएपछि कहि न कतै देशको हो या आफ्नो खुब माया लागिरहेको छ । किन हो खै । मैले देखेका बेथितिहरूप्रति मेरो मनमा धेरै घृणा छ । लाग्छ म अब त केही दिनपछि मर्छु पनि होला । तर मैले मेरो उपचार गर्दा पाएको दुख हजुरलाई सबै भन्न चाहान्छु । न कि यो देशका नागरिकले म जस्तो दुख्ख नपाउन् । पिडा नपाउन् । बेथितिको सिकारले मृत्यु नपाउन् ।
तपाईंलाई मेरा धेरै कुराहरू भन्नु छ । जुन कुराहरू म चाहेर पनि यस पत्रमा लेख्न सक्दिन । भन्न सक्दिन । घाउ पनि दुखेर बढिरहेको छ । पिडाले मुटु कापिरहेको छ । म यो भन्दा बढि लेख्न सकिन । कृपया सक्नु हुन्छ भने म मर्नु पहिले म हजुरसँग सबै कुरा भन्ने समय पाउँ । सक्नुहुन्न भने यो काम चाहि गरिदिनुहोला । देशका हर नागरिकलाई मृत्यु दिने बेथितिहरूको अन्त्य होस् । लापरवाहीले एक बर्षपछि मर्ने नागरिक एक वर्ष अघि मर्न नपरोस् ।
नमस्कार ।
सन्ध्या शाही, जुम्ला
हाल काठमाण्डौ
प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार १४:५५