मुद्दा फैसला नहुँदासम्म कुन दिन के हुन्छ भन्ने जानकारीसहितको समय तालिका वादी र प्रतिवादी पक्षलाई उपलब्ध गराउन थालिएको जिल्ला न्यायाधीश रामप्रसाद शर्माले जानकारी दिए ।
मुद्दा अनिश्चित हुन्छ भन्ने सेवाग्राहीको धारणामा परिवर्तन ल्याउँदै उनीहरुको सहजता र सुविधाका लागि गत साउनदेखि मुद्दा दर्ता भएकै दिन समय तालिका उपलब्ध गराउन थालिएको हो । एसएमएसबाट मुद्दा कारबाहीको अवस्थाको विषयमा जानकारी लिने व्यवस्था मिलाएको अदालतले संवेदनशील विषयका मुद्दाको छिटो फैसला गर्न निरन्तर सुनुवाइ गर्ने गरेको छ ।
यसैबीच अदालतबाट प्रवाह हुने सेवा र न्यायिक प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले शुक्रबार बेनीमा नागरिक समाज र पत्रकारसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला न्यायाधीश शर्माले न्यायमा आम नागरिकको पहुँच बढाउन राज्यका सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
स्वास्थ्य शिविरबाट लाभान्वित
म्याग्दीको भुरुङ तातोपानीमा शुक्रबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार भन्दा बढी लाभान्वित भएका छन् । सगरमाथा हेल्थ फाउन्डेसनको सहयोगमा पाँच दिनसम्म सञ्चालन भएको शिविरबाट दुई हजार ३११ जनाले सेवा लिएका हुन् ।
तातोपानी स्वास्थ्य चौकी, नेपाल रेडक्रस सोसाइटी भुरुङ तातोपानी उपशाखा, म्याग्दीका लायन्स क्लब, भुरुङ तातोपानीका युवा क्लब र आमा समूहले असोज ३ गतेदेखि शिविर आयोजना गरेका थिए ।
बिरामीको स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरणका साथै सामान्य शल्यक्रिया समेत गरिएको नेपाल रेडक्रस सोसाइटी भुरुङ तातोपानी उपशाखाका सभापति दशरथकुमार कर्माचार्यले बताए । आँखा, नाक, कान, घाँटी, स्त्रीरोग, छाला, हाडजोर्नीलगायत समस्या भएका बिरामीलाई सेवा दिइएको थियो ।
रासस