जाजरकोट, ७ असोज । वर्तमान र पूर्व गृहमन्त्री दुवैले आफु निकटकालाई पठाउँन दवाव दिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोट दुई महिना देखि प्रमुख विहीन भएको छ ।
जाजरकोटमा कार्यरत प्रहरी प्रमुख डिएसपी दानवहादुर मल्ललाई प्रधानमन्त्री प्रचण्डको सुरक्षाको लागि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि गत साउन २२ गते देखि रिक्त भएको उक्त पद अहिलेसम्म पूर्ति हुन सकेको छैन ।
गृहमन्त्री विमलेन्द्र निधीले आफु निकटकालाई डिएसपी बनाएर पठाउन चाहेका छन् भने पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो गृह जिल्लामा आफु निकटकालाई प्रहरी प्रमुख बनाउन प्रहरी प्रधान कार्यालयलाई दवाव दिएपछि प्रहरीको हाईकमान्ड अफ्ठयारोमा परेको हो ।
प्रहरी प्रधान कार्यालयले गत भदौ ३ गते १२५ जना डिएसपीको सरुवा गर्दा जाजरकोटबाट डिएसपी मल्ल सरुवा भएको देखाएपनि चर्को दवावका कारण जाजरकोटको प्रहरी प्रमुखमा कसैलाई नखटाइएको स्रोतको दावी छ ।
मल्ल प्रधानमन्त्री कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक हिकमत वोहराले निमित्त भएर काम गरिरहेका छन् ।
नेपाली काँग्रेसका नेताहरुले गृहमन्त्री निधी मार्फत आफ्नो पक्षको र माओवादी केन्द्रका नेताहरुले पूर्व गृहमन्त्री बस्नेत मार्फत आफ्नो पक्षको डिएसपी पठाउन प्रहरी प्रधान कार्यालयलाई दवाव दिएका कारण प्रहरीको हाईकमान्डलाई निर्णय लिन अफ्ठयारो परेको हो ।
नेपाली काँँग्र्रेसका साँसद राजिव विक्रम शाहले जिल्लामा राम्रोसँग काम गर्ने व्यक्तिलाई पठाउनु पर्छ भनेर आफुहरुले माग गरेको बताए । आफ्नो अर्काे पक्षको भन्दा पनि जनताका लागि काम गर्ने व्यक्ति जिल्लामा जानु प¥यो भन्ने हाम्रो भनाइ हो, शाहले भने ।
माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले भने छिटो भन्दा छिटो जिल्लामा डिएसपी पठाउन प्रहरी महानिरीक्षकलाई आफुले आग्रह गरेको बताए । उनले जो सुकै भएपनि जिल्लामा छिटो डिएसपी पठाउन भनेर आफुले वारम्वार ताकेता गरेको तर फलानोलाई पठाउ भनेर दवाव नदिएको वस्नेतले दावी गरे । उनले आफुले आफ्नो मान्छे पठाउ भनेर कसैलाइ नभनेको र जिल्ला लामो समय डिएसपी विहीन हुनु हुदैन भनेर सम्वन्धित निकायमा पहल गरिरहेको बताए ।
जिल्लामा लामो समय प्रहरी प्रमुख नहुँदा जिल्लाको शान्ति सुरक्षा र अन्य काम कारवाही निमित्तको भरमा चलिरहेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले लामो समय प्रहरी कार्यालय प्रमुख विहीन हुँदा समस्या पर्ने बताए । केही समयका लागि खाली हुँदा केही असर नपरेपनि लामो समय प्रमुख नहुँदा भने प्रशासनिक तथा अन्य सुरक्षाका विषयमा निर्णय लिंदा समस्या पर्ने उनले बताए ।
प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार १६:४०