स्थानीय बासिन्दाका अनुसार वडा नं ४ मा विहिबार नदीले धान रोपेको रामदास रानाको छ कट्ठा, लखन रानाको तीन, भक्कु रानाको दुई र वडा नं ५ का किसन सिंह बडायकको छ कट्ठा जग्गा कटान गरी बगाएको छ । दुवै वडामा आठ घन्टाको अवधिमै गरी करिब एक बिघा जग्गा कटान गरी नदीले बगाएको स्थानीयवासी अमर रानाले बताए । पानी पर्ने क्रम जारी रहेकाले जग्गा कटानको कार्य अझै बढी हुन सक्ने उनले बताए ।
“दुवै वडाका तीन दर्जनभन्दा बढी किसानले खेतमा काटेको धानसमेत नदीको बाढीले बगाएर लगेपछि क्षति पुगेको छ”, स्थानीयवासी लखन रानाले भने । बाढीबाट डुबानमा परेका डुढन, दुख्खी, हरिचन्द्र, बालुराम, सर्जन राना लगायतका सात परिवार सुरक्षित स्थानतर्फ गएको उनको भनाइ छ । नदीको बाढीले जग्गा कटान गरी बगाउन थालेपछि दुई दर्जन परिवार उच्च जोखिममा परेका छन् । असारदेखि असोज महिनाको हालसम्म यस क्षेत्रमा बसोबास गर्ने परिवारको सात बिघा बढी जग्गा नदीले बगाएको छ ।
यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गजरौला क्षेत्रमा मछेली नदीमा आएको बाढीले डुबान गरेको क्षेत्र सामान्य हुन थालेको छ । नदीको बाढीले डुबानमा परेका परिवार बिस्तारै घरतर्फ आउन थालेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए ।
यसैबीच, गजरौलाका स्थानीय किसानको खेतमा बिहीवर जरही खोलाको बाढी पस्दा एक लाख बढीको क्षति भएको छ । तीस कट्ठाभन्दा बढी खेतमा काटिएको धान बाढीले बगाउँदा क्षति भएको हो ।
कृषि सेवा केन्द्र झलारीका प्रमुख मणि नाथका अनुसार स्थानीय किसान पदमादेवी साउद, पुस्कर सुनार, जगुदेवी सुनार, खडक सुनार, अमर सुनार, वीरबहादुर पछेरा, पार्वती दमाईं र हरिलाल दमाईंको खेतमा काटेको धान बगाउँदा क्षति भएको छ । “बाह्र कट्ठा जग्गामा पाक्नै लागेको धान डुबानमा पर्दा ढलेर किसानले थप क्षति व्यहोर्नु परेको छ”, कार्यालय प्रमुख नाथले भने ।
लगातारको वर्षाले नगरपालिका–१ र ६ मा रहेको सुकुम्वासी बस्तीसमेत डुबानमा परेको छ । वर्षाले चुरे भएर बग्ने नदीमा पानीको सतह बढेर सुकुम्वासी बस्ती डुबानमा परेको हो । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार कृष्णपुर नगरपालिका–१ पहरिया र दोमिल्ला क्षेत्रमा बण्ड नदीले तथा वडा नम्बर ६ को पवित्रा बस्तीमा मोहना नदीले डुबान गरेको हो । डुबानबाट पवित्रा बस्ती बढी प्रभावित भएको छ ।
पवित्रा बस्तीका २०/२५ परिवारको घरभित्र पानी पसेकाले उनहरुलाई स्थानीय पवित्रा प्राथमिक विद्यालयमा सारिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिए।
रासस