मिर्गौलासम्बन्धी रोगको परीक्षण, परामर्श र समस्या भएका बिरामीलाई औषधिसमेत वितरण गरिएको फाउन्डेशनका संयोजक गणेश उप्रेतीले जानकारी दिए । फाउन्डेसनले वर्षेनी यस्ता शिविर सञ्चालन गर्दै आएको उनको भनाइ छ । मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको पहिचान र उपचारमा सघाउन शिविरको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष एवम् मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बताए ।
फाउन्डेसनले देशका विभिन्न ठाउँमा पुगेर मिर्गौला रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्य पनि गर्दै आएको छ । बागलुङमा भएको शिविरमा पाँचसय जनाको जाँच गर्ने लक्ष्य राखिए पनि सर्वसाधारणको अत्यधिक भीड भएपछि सो सङ्ख्या बढाइएको थियो । मिर्गौला जाँचका लागि बिहानैदेखि शिविरस्थलमा सर्वसाधारणको लाम लागेको थियो । मिर्गौला सामान्य अवस्थामा रहेका व्यक्तिलाई परामर्श र समस्या देखिएका बिरामीलाई उपचार तथा औषधि प्रदान गरिएको शिविरमा सहभागी अमेरिकाका मिर्गौला रोग विशेषज्ञ डा जोन बलले जानकारी दिए ।
अमेरिकाका दुईजना विशेषज्ञ चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मीले शिविरमा सेवा प्रदान गरेका थिए । फाउन्डेसनले बागलुङसहित पाँच स्थानमा शिविर सञ्चालन गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । शुक्रबार पर्वतको फलेवास, शनिबार सदरमुकाम कुश्मा, आइतबार कास्कीको लेखनाथ र सोमबार पोखरामा शिविर आयोजना गरिनेछ । प्रत्येक शिविरमा पाँचसय जनालाई सेवा दिने लक्ष्य राखिएको फाउन्डेसनले जनाएको छ । पछिल्लो समय मानिसमा मिर्गौलासम्बन्धी समस्या बढ्दै गएपछि यसको रोकथाम र उपचारमा सहयोग पु¥याउन फाउन्डेसनले अभियान थालेको हो ।
“पोखरा, काठमाडौँमा पत्ता लाग्ने मिर्गौलासम्बन्धी रोगका बिरामी बढीजसो गण्डकी, धवलागिरि क्षेत्रका भएको हुनाले पनि हामीले शिविरका लागि यो क्षेत्र रोजेका हौँ”, फाउन्डेसनका अध्यक्ष बस्नेतले भने ।
शिविरमा फाउन्डेसनका सल्लाहकार रहेका निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले पनि सर्वसाधारणलाई मिर्गौलासम्बन्धी परामर्श दिएका थिए । मिर्गौला जाँच गराएका बागलुङ नगरपालिका–२ का राजेन्द्र आचार्यले फाउन्डेसनले सर्वसाधारणलाई निःशुल्क सेवा दिएर प्रशंसनीय कार्य गरेको प्रतिक्रिया दिए ।
रासस