जाजरकोट, ७ असोज । उमेर १२० बर्ष । अझै हट्टाखट्टा । एक दर्जन सन्तानकी आमा । यो परिचय हो जाजरकोट भेरीमालिका नगरपालिका ६ भेरेकी भिमा वली को ।
कुरा सुन्दा नै अपत्यारिलो जस्तो लाग्ने भिमा वलीले आफु हाल १ सय २० वर्षको उम्मेरमा पुगेको वताएकी छन् । उनी यति धेरै लामो उमेरसम्म वाँच्न पाएकोमा आफुलाई गौरव पनि गरिरहेकी छन् ।
राणाशासन समेत भोगेकी उनी प्रजातन्त्र, पञ्चायत बहुदल हुँदै गणतन्त्र देख्न पाएकोमा निकै खुसी छन् । पहिलेको व्यवस्था भन्दा अहिले निकै स्वतन्त्रता भएपनि छाडातन्त्र बढी भएकोमा भने उनलाई चित्त बुझेको छैन । तर पनि उनलाई देशमा निर्वाचन भएर संविधान कार्यान्वयन होस् भन्ने इच्छा छ । जुन निर्वाचनमा आफुले एक पटक भोट हाल्ने धोको व्यक्त गरेकी छन् ।
पहिलेका मानिसहरु एक महिना लगाएर बाँकेको नेपालगञ्ज पुगेर नुन ल्याउथे । अहिलेको जस्तो कुनै कुराको पनि सुविधा थिएन अहिलेका मानिस निकै भाग्यमानी भएको उनको ठहर छ । बाँचेपछि सवै देख्न पाईदोरहेछ हजुरआमा भिमाले भनिन् । आफ्नो पुस्ताले जीवन निर्वाहका लागि निकै संघर्ष गर्नु परेको उनको अनुभव छ । विरामी भयो भने धामीझाँक्रीमा भर पर्नु पर्ने बाध्यता भएको उनको भनाई छ ।
भिमाले अझै पनि आफुले पोलेको मकै र भुटेको भट्ट खाना सक्छिन् । आँखा नदेख्ने र कान नसुन्ने वलीलाई वोल्नलाई भने कुनै समस्या देखिएको छैन् । ६ भाई छोरा र ६ वहिनी छोरीलाई जन्म दिएकी वलीले आफुले काललाई पनि जिति सकेको बताउँछिन् ।
अन्तिम १२ औं सन्तानका रुपमा कान्छो छोरा टिकाराम वलीलाई २०१६ सालमा जन्म दिएको उनले बताइन् । भात खान मन नपराउने भिमा मकैको रोटी दुधसँग खान खजिलो हुने वताउँछिन् । प्राय अन्य खानावाट आफुलाई चिसो हुने भएकोले नियमित चिया पिउने गरेको उनको भनाई छ । दैनिक खानामा दही, दुध पनि खाई रहेकी वलीले चाउचाउ खाना पनि उत्तिकै मन पराउँछिन् ।
सल्यानको दार्माकोट जन्मघर भएकी वलीको १३ बर्षमा जाजरकोटको भेरेमा विवाह भएको थियो । माईती घर दार्माकोटमा हालसम्म अघिल्लो पुस्ताको कोही पनि जीवित नरहेको र नयाँ पुस्ताका कसैलाई पनि आफुले नचिन्ने वताउँछिन् । एक शताब्दी भन्दा वढी उमेर पुगेकी वलीले आफुले जन्म दिएका १२ सन्तान मध्ये हाल दुई छोरा र एक छोरी मात्र जिवित रहेको बताइन् । जिवित रहेका मध्य छोरा हरिबहादुर र टिकाराम रहेका छन् भने, छोरीमा ओईली खत्री रहेकी छन् । अन्य दिदी वहिनी र दाजु भाईको यस अघि नै मृत्यु भई सकेको छ । कान्छो छोरा टिकारामसँग बस्दै आएकी वलीले आफ्नो लागि अझै काल नआएको वताइरहेकी छन् ।
२०५२ सालमा नेपाली नागरिकताको प्रमाण पत्र बनाएकी वलीले नेपाल सरकारवाट वुझ्ने जेष्ठ नागरिक भत्ताले आफुले लगाउने कपडा र चिनी चियापत्ति खरिदमा खर्च गर्ने गरेको वताइन् । साथै १ सय २० वर्षे भीमाले नजिकिँदै गरेको वडा दशैंको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुको उन्नति, प्रगति र समुन्नतिको कामना गर्दै सबै दल मिलेर संविधान कार्यान्वयन गर्न आग्रह गरेकी छिन् । उनले एक पटक अझै चुनावमा भोट हाल्ने धोको छ । आफु कुनै पार्टीको नभएको बताउँदै उनले भनिन्, जसले जनताको लागि राम्रो काम गर्छ त्यही पार्टीलाई भोट हाल्छु ।
प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार १०:२५