काठमाडौँ, ६ असोज । उद्योग मन्त्री नवीन्द्रराज जोशीले रोजगारीका लागि विदेशिएका नेपाली युवालाई स्वदेशमै रोजगारी दिने गरी उद्योग व्यवसाय प्रवद्र्धन गर्ने नीति सरकारले ल्याउन लागेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घले ‘कम्प्युटराइज्ड डाटावेस’ तयार पार्न विकास गरेको व्यवस्थापन सूचना प्रणालीको आज यहाँ शुभारम्भगर्दै उनले सो जानकारी दिए ।
मन्त्री जोशीले “रोजगारीको समस्याले १४ वर्ष पुगेपछि युवा कुन देश जाने भनेर सोच बनाउन थाल्छन्, १८ वर्षपछि राहदानी बनाएर अरबमा ५० डिग्री सेल्सिएस तापक्रममा काम गर्न पुग्छन्, यो समस्या समाधानका लागि उद्योग व्यवसायको प्रवद्र्धन र संरक्षण गरिनुपर्छ” भने ।
सबै जिल्लामा उद्योग उत्प्रेरक खटाएर उद्योग व्यवसायको प्रवद्र्धन गर्ने सोच मन्त्रालयले अगाडी सारेको उल्लेखगर्दै उनले यसका लागि ७५ वटै जिल्लाका युवाबाट प्रस्ताव आह्वान गरिएको बताए ।
मन्त्री जोशीले बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडको सञ्चालनका लागि मन्त्रिपरिषद् बैठकबाट रु १४ करोड ६२ लाख बजेट विनियोजन गरिएको बताउँदै बाँकी दुई उद्योग सञ्चालनका लागि पनि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।
सुन चाँदी व्यवसायमा काम गर्ने जनशक्ति भारत र बङ्गलादेशबाट आएको प्रसङ्ग उल्लेखगर्दै उनले यो व्यवसायमा नेपालीेलाई काम गर्न अह्वान गरे ।
कार्यक्रममा महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरी, साना तथा मझौला उद्योग महासङ्घका अध्यक्ष जङ्गबहादुर श्रेष्ठ र महासङ्घकी महिला समिति अध्यक्ष शिवा उपाध्याय लगायतले बन्द भएका उद्योग सञ्चालन गरी रोजगारी एवम् आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिए। रासस