अस्पतालको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा उनले आफूले अस्पतालमा व्यवस्थापकीय कमजोरी, आर्थिक अनियमितता र स्रोत, साधनको उचित सदुपयोग हुन नसकेको पाएको बताए । सो अवसरमा उनले एसियाकै नमुना सो अस्पताल अस्तव्यस्त भएको भन्दै चिन्तासमेत व्यक्त गरे ।
मन्त्रालयले देशका अन्य अस्पतालमा पनि टोली खटाएर सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गर्दै उनले टोलीको प्रतिवेदन आएलगत्तै मन्त्रालयले निर्णय लिने बताए । स्वास्थ्य क्षेत्रमा राजनीति हाबी हुँदा गुणस्तरीय सेवा प्रदान हुन नसकेको भन्दै उनले समयमा नै आफ्नो कार्यशैली सुधार गर्न चिकित्सक र कर्मचारीलाई निर्देशन दिए ।
विश्व दीर्घकालीन अधिश्वेत रक्तता (चार मुख्य अर्बुदरोगमध्ये एक) दिवसका अवसरमा आजै सो अस्पतालमा रक्त अर्बुदरोग भएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । अस्पतालबाट अहिले ६०० जनाले वार्षिक प्रतिव्यक्ति रु ६० लाख पर्ने औषधि निःशुल्क सेवन गरिरहेको कर्मचारी रमेश पौडेलले बताए । रासस