लमजुङ, ४ असोज । माथिल्लो मस्र्याङ्दी–ए ले सुरु गर्यो परिक्षण उत्पादन लमजुङको भुलभुलेस्थित मस्र्याङ्दी नदीमा निर्माणाधिन ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजनाले मंगलबार देखि परिक्षण उत्पादन शुरु गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका प्राविधिक सहितको टोलीले मंगलबार विहान ११ बजे विद्युत गृहको दुई वटै टरवाइन घुमाएर परिक्षण उत्पादन सुरु गरेको आयोजनाका जन सम्पर्क अधिकृत कर्ण अधिकारीले जानकारी दिए ।
गत सातादेखि विभिन्न भागको परिक्षण गरेको आयोजनाले आजबाट विद्युत उत्पादन र यसको प्रभावका बारेमा समेत परिक्षण गरेको हो । मंगलबार आयोजना स्थल भुलभुलेको ११ केभी प्रशारणलाइनबाट मध्य मस्र्याङ्दी एघार केभी प्रशारणलाइनमा एक साथ परिक्षण गरिएको अधिकारीले बताए । उनले भने, “हालसम्म टनेल परिक्षण, पावरहाउस परिक्षण लगाएत वाँध क्षेत्रको परिक्षण समेत सकिएको छ । मंगलबार प्राधिकरणका प्राविधिकहरुको विशेष उपस्थितिमा चार्ज चेक गरेका छौँ ।’’
विद्युत प्राधिकरणले अनुमति दिएमा यसै सातादेखि औपचारिक विद्यूत उत्पादन गर्ने आयोजनाका जनसम्पर्क अधिकृत अधिकारीले बताए । उनका अनुसार हाल आयोजनका दुई वटै टरवाइनको परिक्षण भएको छ । आगमी २६ तारिखमा आयोजनाको औपचारिक उद्घाटन गर्ने तयारी छ ।
गत वैशाखमा निर्माण कार्य सक्ने लक्ष्य राखिए पनि गोरखा भूकम्प र भारतीय नाकावन्दीका कारण ६ महिना पर धकेलीएको यो आयोजनाले असोज दोश्रो सातासम्ममा विद्युत उत्पादनको लक्ष्य लिएको थियो ।
चीनको सिनो हाइड्रो र नेपालको सगरमाथा पावर कम्पनीले संयुक्त लगानीमा निर्माण भएको यस आयोजनाले निर्धारित समयमै विद्युत उत्पादन गर्ने निश्चित प्राय देखिएको छ ।
चाइनिज कम्पनी सिनो हाइड्रोको ९० र सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानीमा निर्माण भएको यो आयोजना सम्पन्न भएसँगै लोड सेडिङको समयमा केही घट्ने अनुमान गरिएको छ । रन अफ रिभर प्रविधिमा बन्न लागेको सो आयोजना निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ खर्च अनुमान गरिएपनि नाकावन्दी तथा विभिन्न आन्दोलनका कारण १४ अर्व खर्च भएको आयोजनाको दावी छ ।
प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार १७:४८