हुम्ला, ४ असोज राजधानी काठमाडौंसहित सहर बजारमा दसैँको चटारोले छुँदै छ । दसैँलाई लक्षित गर्दै लत्ताकपडादेखि सवारीसाधनसम्म किन्नेको घुइँचो बढ्दो छ ।
तर, यही देशमा यस्तो पनि ठाउँ छ, जहाँ दसैँमा समेत चामलको भात खान नपाइने भयो भन्ने चिन्ता बढ्दो छ । दसैँ नजिक आइसक्दा पनि ढुवानीमा देखिएको असामञ्जस्यका कारण कर्णालीको हुम्लामा चामल पुग्न सकेको छ । हुम्लाको सम्भावित भोकमरीलाई लक्षित गरी सरकारले पाँच महिनाअघि नै चामल वितरण गर्ने निर्णय गरेको थियो । गत ७ वैशाखको मन्त्रिपरिषद् बैठकले गरेको १० हजार क्विन्टल चामल वितरण गर्ने निर्णय अझै कार्यान्वयन भएको छैन । सरकारको निर्णयपछि अहिलेसम्म १ सय १७ क्विन्टल चामल मात्र हुम्ला पुगेको छ ।
करिब डेढ महिनाअघि दुई हजार क्विन्टल चामल पु-याइएको थियो भने हालसालै एक सय १७ क्विन्टल चामल हुम्ला पु-याइएको छ । तर, मागको तुलनामा यो निकै न्यून परिमाण हो । ढुवानी समस्याका कारण डेढ महिनाअघि जम्मा दुई हजार क्विन्टल चामल मात्र हुम्ला पुगेपछि ढुवानीमा सहजता ल्याउन नेपाली सेनाका ढुवानीसाधनको प्रयोग गर्ने निर्णय भएको थियो । दश हजार क्विन्टलमध्ये ६ सय क्विन्टल चामल तत्काल ढुवानी गर्न डेढ महिनाअघि नेपाली सेनालाई जिम्मा दिइएको थियो । सेनासँग ठूलो भार क्षमताका एमआई १७ जस्ता ठूला हेलिकोप्टर भएकाले टेन्डर नगरी उसैलाई ढुवानी गर्न दिने सहमति आपूर्ति मन्त्रालय र रक्षा मन्त्रालयबीच भएको थियो ।
तर, सो सहमतिपछि पनि जम्मा १ सय १७ क्विन्टल चामल मात्र हुम्लामा झरेको छ । ‘तत्काल राहतका लागि भनेर सेनाको हेलिकोप्टरबाट ६ सय क्विन्टल चामल हुम्लाको श्रीनगर र सार्केघाडमा लगेर वितरण गर्ने भनिए पनि अहिलेसम्म १ सय १७ क्विन्टल मात्र ल्याइपु-याइएको छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले नयाँ पत्रिकासँग भने, ‘अघिल्लो वर्षको भोकमरीपछि जनताले श्रमदान गरेका थिए । त्यसबापत बाँड्नुपर्ने चामल पटकपटक ताकेता गर्दा पनि ढुवानी हुन सकेको छैन, वितरण गर्न सकिएको छैन ।’
हुम्लामा चामलको व्यग्र प्रतीक्षा छ । कतिसम्म भने आकाशमा हेलिकोप्टर देखिए पनि चामल बोकेर आएको हो कि भन्ने आशामा हुम्लावासी हुन्छन् । तर, काठमाडौंमा रहेको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराज रेग्मी समयमा ढुवानी हुनुपर्ने भए पनि के–कति कारणले रोकिएको हो भन्ने आफूले बुझ्न नपाएको बताउँछन् ।
सेनाका प्रवक्ता ताराबहादुर कार्की काठमाडौंदेखि सुर्खेतसम्म हेलिकोप्टर भाडाको विषय नमिलेको र वर्षायाम भएकाले समयमा ढुवानी हुन नसकेको बताउ“छन् । तर, हुम्लाका सांसद एवं पर्यटनमन्त्री जीवनबहादुर शाहीले राज्यले निर्देशन दिएपछि सेनाले काठमाडौंदेखि सुर्खेतसम्मको भाडा पहिले चाहिन्छ भनेर निहुँ खोज्न नहुने बताए । ‘सेनाको हेलिकोप्टर कुनै प्राइभेट एयरलाइन्सको होइन, उनीहरू अरूजस्तो व्यापार गर्ने संस्था पनि होइनन्,’ शाहीले नयाँ पत्रिकासँग भने, ‘राज्यको निकायले आदेश दिएपछि उनीहरूले तत्काल चामल पठाउनुपर्छ ।’
प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार ०७:०२