सुर्खेत, ३१ भदौ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विरामीका लागि सेवा सुविधा थप गर्न लागेको छ । अस्पतालले असोज महिनादेखि नै निजी क्लिनिक सञ्चालन गर्ने भएको छ । विहान १० बजेदेखि ३ बजे सम्मको नियमित सेवाबाहेक त्यस पछिको अतिरिक्त समयमा अस्पतालले ५० प्रतिशत र शतप्रतिशत शुल्क थपेर निजी क्लिनिक सञ्चालन गर्न लागेको हो ।
ओपीडीमा ५० प्रतिशत, ल्यावमा ५० प्रतिशत, अप्रेशनमा शतप्रतिशत सेवा लिएर विरामीले निजी क्लिनिक सरहको सेवा लिन पाउनेछन् । यो सेवाले बाहिर निजी मेडिकलमा लाग्ने खर्च कम हुने निमित्त मेसु डा. खड्काले बताए ।
अस्पतालले विरामीलाई थप सेवा सुविधा दिनका लागि नयाँ योजनापनि अगाडि सारेको छ । अक्सिजन प्लान्ट गर्ने, सिटी स्क्यान संचालन, नयाँ भवनजस्ता योजनाहरुका लागि सवा ७ करोड बढीको बजेट माग गरिएको निमित्त मेसु डा. खड्काले जानकारी दिए ।
विरामीहरुलाई नाम लेखाउन भीड नहोस् भनी क्यु मेसिन राखेर भीड कम गराइएको छ । अस्पतालका वार्डहरु, बेडहरु, शौचालयहरुमा टायल लगाएर सफा बनाइएको छ भने सफा सुग्घर राख्नका लागि जरिवानाको नियम समेत बनाइएको छ ।
हालको ५० शैयामा ७५ शैया थप गरी १२५ शैया बनाउन लागिएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पछिल्लो समयमा विरामीका लागि सेवासुविधालाई पनि ध्यान दिन थालिएको छ । आगामी कात्तिक १ गतेदेखि ७५ शैया थप गरी सञ्चालमा ल्याइने मध्यपश्चिम क्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए ।
अस्पताल विकास समितिका अध्यक्ष खम्बराज थानीले समिति मार्फत करिव १ सय कर्मचारीहरु राखेर स्वास्थ्य सेवा दिनुपरेकोले त्यसको खर्चका लागि न्यूनतम् शुल्क उठाउनु परेका बताए । अस्पताललाई अत्याधुनिक सेवा प्रदानका लागि विभिन्न योजनाहरु बनाएर सरकारसंग बजेट मागेको जानकारी पनि उनले दिए ।
अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलले अस्पतालले महिला हिंसा र बलात्कारको घाउ जाँच सिफारिस निःशुल्क गर्ने निर्णय गरेको बताए । अस्पतालले विभिन्न सेवाहरु निःशुल्क प्रदान गरेको छ ।
प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार १४:२७