वाजुरा ३१ भदौ -गुम्बा गाउँका छिरिङ लामाकी पत्नीलाई ज्वरोले च्याप्यो । औषधिका लागि स्वास्थ्य चौकी पुग्नै पर्ने भयो । देउसैनमा रहेको गाविसकै स्वास्थ्य चौकीबाट सिटामोल ल्याएर फर्किन भने छिरिङलाई दुई दिन लाग्यो ।
घरबाट कस्सिएर हिँडेका छिरिङ १३ घण्टापछि मुस्किलले देउसैन पुगे । त्यही राति नै चौकीका कार्यालय सहयोगी जगत थापालाई गुहारे । थापालाई देउसैनमा सबैले ‘डाक्टर’ भनेर चिन्छन् । उनै थापाबाट छिरिङले सिटामोल पाए ।
अघिल्लो दिन जस्तै दोस्रो बिहान झिसमिसेमा हिँडेका उनी झमक्क रात परेपछि मात्रै घर पुगे । गुम्बाको वडा नागरिक मञ्चका अध्यक्ष काला गुरुङका अनुसार गाउँबाट रित्तो मान्छे मात्रै एक दिनमा स्वास्थ्य चौकी पुग्न सक्छन् । ‘बिरामी बोकेर उपचारका लागि त एक दिनमा सम्भवै छैन,’ उनले भने ।
गुम्बा बाजुराको सबैभन्दा विकट र टाढाको गाउँ हो । २५ परिवार रहेको गाउँमा भोटे जनजातिको बसोबास छ । स्वास्थ्य संस्था यहाँका बासिन्दाको पहुँचभन्दा निकै टाढा छ । स्वास्थ्य सम्बन्धी चेतना अभाव र भौगोलिक विकटताका कारण यहाँका बासिन्दा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् । सामुदायिक परियोजनामा कार्यरत सारिका देवकोटा भन्छिन्, ‘स्वास्थ्य संस्थामा गएर उपचार गराए रोग निको हुन्छ भन्ने नै धेरैलाई थाहा छैन ।’
स्वास्थ्यकेन्द्र उनीहरूका लागि अपायक र टाढा भएकाले अधिकांश विरामी उपचार सुविधाबाट वञ्चित छन् । जिल्लाबाट पाउने औषधिसमेत गाविसमा पुर्याउन कठिन छ । चौकीका स्वास्थ्यकर्मीको व्यक्तिगत विवेक र पहलबाहेक औषधि र सेवाको अनुगमन गर्ने कोही छैन । त्यसैले अधिकांश समय चौकीमा समेत औषधि अभाव भइरहने स्थानीय बासिन्दा बताउँछन् ।
बाध्यता र परम्पराले यहाँका बासिन्दाहरू जडीबुटी र झारफुककै भरपर्ने गरेका छन् । ‘अरू उपाय नभएपछि परम्परादेखि चलिआएको उपचार नै गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता हो,’ स्थानीय छिरिङ दोर्जे लामाले भने । बिच्छयाको गुम्बा मात्र नभई गाविसका अधिकांश बस्तीहरू स्वास्थ्यचौकी रहेको देउसैनबाट कम्तीमा चार घण्टाको दूरीमा छन् ।
गुम्बाबाहेक गाविसका अन्य मुख्य बस्तीमा बौडी, युना, नेटा, बाम, नातीखोला, कोट, कोटीगाउँ, गोचन र रुम्दी हुन् । यी गाउँबाट स्वास्थ्य चौकी पुग्न रित्तो मान्छेलाई समेत कम्तीमा ३ देखि ६ घण्टा पैदल हिँड्नुपर्ने समस्या रहेको बौडीस्थित नागरिक सचेतना केन्द्रकी सहजकर्ता जर्मकला रोकायाले बताइन् ।
सदरमुकाम मार्तडीबाट समेत बिच्छया पुग्नेहरू विरलै भेटिन्छन् । शिक्षण संस्था र स्वास्थ्य संस्थाका कर्मचारीहरूबाहेक अनुगमनका लागिसमेत सरकारी कर्मचारीहरू पुग्दैनन् । सदरमुकाम मार्तडीदेखि बिच्छया पुगेर फर्किन ८ दिनको पैदल हिँड्नु पर्ने अवस्था छ । ‘बिच्छयाका हामी बासिन्दाहरू कुन जुगमा छौं भन्ने कसैले विचार गरेकै छैन,’ गाविसका अगुवा अर्जुन रोकायाले भने । कान्तिपुर दैनिकमा खबर छ ।
प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार ०७:२८