काठमाडौँ, ३० भदौ । उपन्यासकार उमा सुवेदीको दोस्रो उपन्यास ‘इति’ आज सार्वजनिक गरिएको छ ।
आज आयोजित कार्यक्रममा साहित्यकार अमर न्यौपाने, गीता त्रिपाठी र लेखक सुवेदीले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका हुन् । झापाको दामाटार गाउँमा हुने हात्ती आतङ्क, त्यस क्षेत्रको वनमा हुने तस्करी र त्यही तस्करीमाथि हुने राजनीतिलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उक्त पुस्तक अक्षर प्रकाशनले बजारमा ल्याएको हो ।
साहित्यकार न्यौपानेले अन्य पुस्तकमा महिला चरित्रलाई कमजोर पात्रका रुपमा उभ्याइए पनि सुवेदीको पुस्तकले महिला चरित्रलाई बलियो र दृढ रुपमा चित्रण गरिनु सकारात्मक पक्ष भएको बताए ।साहित्यकार त्रिपाठीले यथार्थ घटनामा आधारित उक्त पुस्तकले समाजलाई चेतनशील बनाउनाका साथै वनमा भइरहेको तस्करी र राजनीतिक खेललाई उजागर गर्न सफल भएको छ भने ।
लेखक सुवेदीले सञ्चारमाध्यममा साना घटनाका रुपमा हात्ती आतङ्क, तस्करी आउने भए पनि आफूले भने उपन्यास नै लेख्ने विषय भेटेको बताए । उक्त पुस्तकको सरल भाषा शैली र रोचक घटनाले पाठकलाई अध्ययन गर्न प्रोत्साहन गर्ने र यथास्थितिबारे जानकारी गराउनेमा लेखक ढुक्क देखिएका छन् । तीन वर्षको समयावधि लगाएर गरिएको अध्ययनपछि लेखिएको उक्त पुस्तकले त्यस गाउँमा व्याप्त आर्थिक अभाव, राजनीतिक आतङ्क र हात्ती आतङ्कलाई प्रस्तुत गरेको छ ।
‘रङहरुको गीत’ सात वटा बिक्री
बबरमहलस्थित नेपाल कला परिषद्मा भएको कलाकार रमेश श्रेष्ठको एकल चित्रकला प्रदर्शनीमा सात चित्र बिक्री भएको छ ।
यही भदौ २४ गतेदेखि सुरु भएको उक्त प्रदर्शनीमा रहेका उहाँका ५४ चित्रका साथै रहेका कविताले उहाँको साहित्यिक रुचिलाई पनि उजागर गरेको छ । ‘रङहरुको गीत’ शीर्षक दिइएको उक्त प्रदर्शनीमा उहाँले बुद्धदेखि नारी पीडा, खुसी संवेदनालाई समेटेका छन् । उनले आफ्ना चित्रमा महिलाका संवेदनालाई रातो, नीलो र हरियो रङले व्यक्त गर्ने कोसिस गरेका छन् ।
कलाकार श्रेष्ठले प्रदर्शनीमा बिक्री भएका चित्रबाट सङ्कलित रकम रोटरी क्लब अफ न्युरोडले सञ्चालन गरेको बालबालिकाको शिक्षाका लागि प्रदान गर्ने बताए । चित्रकला प्रदर्शनीको अवलोकन गर्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न राजनीतिक दलका नेता, कलाकारको सहभागिता थियो । प्रदर्शनीमा रु ३० हजारदेखि एक लाखसम्म पर्ने चित्र राखिएका थिए । रासस