काठमाडौ २८ भदौ ।देशभित्रै थुप्रै चकलेट उद्योग भए पनि अहिलेसम्म नेपाल चकलेट उत्पादनमा आत्मनिर्भर भने हुन सकेको छैन । अहिले नेपालमा विभिन्न देशबाट गरी हरेक वर्ष ६ अर्ब रुपैयाँभन्दा बढीको चकलेट आयात हुने गरेको भन्सार विभागले बताएको छ । स्वदेशी उत्पादनमा भन्दा विदेशबाट आयातित चकलेटमा नेपालीको रुचि अधिक रहेको तथ्याङ्कले पुष्टि गरेको छ ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७२/७३ मा नेपालमा ६ अर्ब ३४ करोड ४ लाख रुपैयाँ मूल्यबराबरको चकलेट भित्रिएको छ । ती चकलेट विभिन्न २२ देशबाट भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो आवमा भने नेपालले करीब ४ अर्ब ७४ करोड रुपैयाँबराबरको चकलेट आयात गरेको थियो ।
विभागका एक अधिकारीका अनुसार नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएर फर्केपछि विदेशी चकलेट आयात बढी हुन थालेको हो । विभागका निर्देशक विनोदशरण आचार्यले नेपालमा गुणस्तरीय चकलेट उत्पादन हुन नसकेकाले आयात प्रतिस्थापन हुन नसकेको बताए । गुणस्तरीय चकलेट उत्पादनका लागि उद्योग एवम् कल कारखाना स्थापना भएमात्र चकलेट आयातमा कमी आउने उनको भनाइ छ ।
बजारमा विदेशी चकलेटसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकाले आयात बढ्दै गएको हो । एक चकलेट व्यवसायीले भने कच्चा पदार्थको आयातमा भन्सार छूटको व्यवस्था नहुँदा नेपाली चकलेटले विदेशी चकलेटसँग प्रतिस्पर्धा गर्न नसकेको बताए । उनले भने, ‘त्यसबाहेक विद्युत् तथा जनशक्तिको अभाव पनि हाम्रो मुख्य समस्याका रूपमा रहेका छन् ।’
नेपालमा क्वालिटी, भगवती, सुजल, कावालगायत चकलेट उत्पादक उद्योग छन् । नेपालमै उत्पादित कच्चा पदार्थको प्रयोग गरी गुणस्तरीय चकलेट उत्पादन गरी विदेशबाट आयातित चकलेटलाई प्रतिस्थापन गर्न लगानीमैत्री वातावरण बनाउनु आवश्यक भएको चकलेट व्यवसायी दिलीप श्रेष्ठले बताए । सरकारले उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण निर्माण गरे आगामी वर्षहरूमा यसको निर्यातमा कमी ल्याउन सकिने व्यापारीहरू बताउँछन् ।
भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा बढी चकलेट आयात भारतबाट भएको देखिन्छ । गत आर्थिक वर्षमा भारतबाट रू. ४ अर्ब ६३ करोड ७९ लाख ९६ हजार मूल्यबराबरको चकलेट आयात भएको छ । यो अन्य देशबाट भएको आयातभन्दा निकै नै बढी हो । गत आवमा बङ्गलादेशबाट रू. ८१ करोड ६५ लाख, चीनबाट रू. ५३ करोड २७ लाख, मलेशियाबाट रू. ६ करोड ९३ लाख र बेलायतबाट रू. १ करोड ३५ लाख मूल्य बराबरको चकलेट आयात भएको छ ।
नेपालमा ती देशबाहेक कोरिया, जर्मनी, टर्की, इण्डोनेशिया, स्वीट्जरल्याण्ड, इटाली, फ्रान्स, नेदरल्याण्ड, सिङ्गापुरलगायत देशबाट चकलेट आयात हुने गरेको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।
प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार ०७:०४