जाजरकोट, १८ भदौ । महिलाहरुले आयोजना गरेको तिज विशेष कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम उठेर महिलाहरुसँगै छमछमी नाच्दा दर्शक दीर्घबाट तालिको फोहरा छुट्यो । दर्शकहरु निकै रमाइलो मानेर प्रमुख जिल्ला अधिकारी लगायतका कार्यालय प्रमुख र स्थानीयहरुको नाच हेरे ।
महिलाहरु आफु पनि नाचे र उपस्थित अतिथि लगायत सवै दर्शकहरुलाई पनि छमछमी नचाए । तीज विशेष कार्यक्रमले सदरमुकाममा तीजको रौनक ह्वात्तै बढाइदिएको छ । नेपाली हिन्दु महिलाहरुको महान् चार्ड हरितालिका तीजको अवसरमा अन्तर पार्टी महिला सञ्जालले सदरमुकाममा गरेको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नै नाच्दा निकै रमाइलो भएकव् स्थानीय कौशिला खत्रीले बताइन ।
हिन्दु महिलाहरुको महान् पर्वका रुपमा रहेको हरितालिका तीजलाई रमाइलो वनाउन र संस्कृतिलाई जोगाई राख्न तीज विशेष कार्यक्रमको आयोजना गरिएको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष प्रमिला सिंह राठौरले वताइन् ।
अन्तर पार्टी महिला सञ्जालद्धारा आयोजित तीज विशेष कार्यक्रमलाई नाचेर औपचारिक उद्घाटन गरेका प्रजिअ जनार्दन गौतमले तीजलाई धेरै भट्किलो र खर्चिलो हुन नदिन सरोकारवालाहरुले ध्यान दिनु पर्ने वताए । उनले महिलाहरुको आग्रह अनुसार उनीहरुको हौसला बढाउन नाचेको बताए ।
कार्यक्रममा विभिन्न राजनैतिक पार्टी सम्वन्ध महिलाहरु, सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, नागरिक समाज लगाएतका विभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो । तीज विशेष कार्यक्रममा तीज गीत प्रतियोगिताको समेत आयोजना गरिको आयोजकले जनाएको छ ।
वर्ष भरिका महिला वेदना र पुरुषहरुलाई गरिने खवरदारीलाई तीज गीत मार्फत अभिव्यक्त गर्ने गरिएकोमा पछिल्लो समय तीजको नाममा अनावश्यक तडक भडक बढ्न थालेको भन्दै जिल्लाका केही महिलाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
प्रकाशित मिति: १८ भाद्र २०७३, शनिबार १०:२४