सुर्खेत, १७ भदौ । गढी ६ राम्चे निवासी ३२ वर्षीय सरिता मन्दीरको परिवारको दिनहरु आजभोली फिरेका छन् । कुनै समयमा खान लाउन धौ धौ पर्ने सरिताका परिवार अहिले घरमा तरकारी खेती गरेरै मासिक २० हजार रुपैयाँ आम्दानी गर्छन् ।
गाउँमा रहेको महिला समुहको ऋण लगानीमा सुरु गरिएको तरकारी खेतीले आफ्नो आय स्रोतमा बृद्धि गरी घरघडेरी जोड्न समेत सरिता सफल भएकी छन् । उनले तरकारी खेतीबाट भएको आम्दानीले गाउँमै फेन्सी पसल र बाख्रापालन व्यवसायलाई पनि सँगै लिएकी छन् ।
सरिताले तरकारी खेती गर्न थालेपछि विदेश जान तयारी गरेका आफ्नो श्रीमानलाई स्वदेशमै काम गरे आम्दानी गर्न सकिन्छ भनेर विदेश जान रोकेको बताइन् । उनले तरकारी खेतीबाटै आएको आम्दानीले छोरालाई वीरेन्द्रनगरको निजि विद्यालयमा पढाएकी छन् ।
उनले भनिन ‘पहिला विहानसाँझको छाक टर्न पनि धौ हुन्थ्यो, त्यसै माथि छोरालाई कसरी पढाउने होला भन्ने चिन्ता लागि रहन्थयो ।’ तर अहिले यो समस्याबाट मुक्ति पाएको छु, साँच्चिकै दिन फिरेछन् की जस्तो लागेको छ, उनले भनिन् ।
जब गाउँमा फलफुल उत्पादन आर्थिक सशक्तिकरण महिला समुह गठन भयो र सरिता समुहमा आवद्ध भइन् र उनले समुहवाट ऋण लिएर तरकारी खेती गर्ने आशा पलाएको हो । उनले भनिन ‘सुरुमा मैले समुहवाट १४ सय रुपैयाँ ऋण लिएर तरकारीका विउविजन किनेर लगाए ।’
सरिताका श्रीमान् चन्द्रबहादुर पहिला विदेश जाने गर्थे । विदेश गएर पनि राम्रो कमाइ भएको थिएन, उनले भनिन् ‘मलाई पहिला घरखर्च चलाउन धेरै समस्या भयो, उहाँको कमाइले घर चलाउन धौ हुन्थ्यो तर पछि गाउँमा गठन भएको समुहमा आवद्ध भए र मैले सुरुमा १४ सय ऋण गरेर तरकारीको विउविजन किनेर लगाए ।’
सुरु सुरुमा उनलाई अरुसँग बोल्न पनि लाज लाग्थ्यो समुहमा आवद्ध भएपछि उनलाई न त लाज लाग्छ न त डर नै, ‘समुहमा सक्रिय भएर सबै हिसाव किताव मैले नै गर्ने गर्दछु, उनले भनिन’ ।
‘विदेश हुँदा मुस्किलले मासिक २० हजार रुपैयाँसम्म पैसा बच्दथ्यो तर, अहिले घरमै बसी बसी तरकारी खेतीबाट मात्र आम्दानी हुन्छ’ चन्द्र बहादुर मन्दीरले भने । विदेश भन्दा घरमै बसेर दोब्बर आम्दानी हुन थालेपछि चन्द्र विदेश नगएरै तरकारी खेतीमा लाग्ने अठोट गरेका छन् । ‘विदेशमा गएर अर्काको बारीमा दुख गर्नुभन्दा यही तरीकारी खेतीमा लागे फाइदा हुने रहेछ’ उनले भने, ‘सुन त बारीमै फल्ने रहेछ ।’
उनीहरुले बारीमा सिमी, टमाटर, भेडेखुर्सानी, भाटा, चिचिन्ना लगायतका तरकारीहरु उत्पादन गरेका छन् । घरछेउमा रहेको एक कट्ठा बारीमा लगाएको तरकारीबाट मनग्य आम्दानी भएपछि यो जोडी उत्साहित छ । चन्द्र भन्छन् ‘अब यही व्यवसायलाई नै निरन्तरता दिन्छु ।’
आजभोली उनीहरुलार्ई न त छोराछोरी पढाउन चिन्ता छ न त घरधन्दा चलाउन नै घरको सबै हिसाव किताब आफुले नै गर्ने भएको हुँदा आजभोली सरितालाई पनि सजिलो भएको छ । उनले भनिन ‘जिवनमा संघर्ष गरेन भने त के गर्न सकिदैन र’ ।
प्रकाशित मिति: १७ भाद्र २०७३, शुक्रबार १५:५३