काठमाडौ १७ भदौ–पर्वत जिल्लाको मोदीखोलामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी खोला २ निर्माणको तयारी गरेको छ ।
युनाइटेड मोदी हाईड्रोपावरको नाममा साढे ११ करोड रुपैयाँको शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको कम्पनीका स्थानीय निर्देशक उपेन्द्र गौतमले बताएका छन् । निजी क्षेत्रको कम्पनी युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी खोला २ आयोजना निर्माणका लागि अन्तिम सर्वे सम्पन्न गरेको छ । चार वर्ष अघिदेखि १० मेगावाटको उत्पादन दिइरहेको कम्पनीले सोही आयोजनादेखि पावरहाउस रहने गरी साढे १० मेगावाटको लक्ष्यसहित आयोजना शुरु गर्न लागेको हो ।आर्थिक अभियान दैनिकमा खबर छ ।
आयोजनाको लागि भदौको अन्तिम वा असोजको पहिलो साता देखि सर्वसाधारणका लागि शेयर खुल्ला गरिने गौतमले बताए । ‘सर्वेको अन्तिम चरणमा छौं,’ उनले भने, ‘भदौको अन्तिम वा असोजको पहिलो सातादेखि शेयर खुुल्ला गर्नेछौं ।’ त्यसका लागि कम्पनीले एनआईबीएल बैङ्कलाई पत्राचार गरिसकेको बताएको छ ।
उक्त आयोजनाको वातावरणीय प्रभाव, मूल्याङ्कन, भौगोलिक अध्ययन लगायतका प्राविधिक काम सकिएको बताइएको छ । आयोजनाको ड्याम सदरमुकाम नजिकैको चुवा र पावर हाउस मोदीबेनीस्थित कालीगण्डकीको दोभानमा रहने बताइएको छ ।
०६९ असोजदेखि उत्पादन शुरु गरेको युनाइटेड मोदीले सोही आयोजना नजिकै अर्को आयोजना शुरु गर्न लागेको हो । यो सहित मोदी खोलामा मात्रै पाँचओटा जलविद्युत् आयोजना हुने भएका छन् । अहिले युनाइटेड मोदीकै तल्लो मोदी १ ले १० र नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मोदी खोला जलविद्युत् आयोजनाले १४ मेगावाट उत्पादन दिइरहेका छन् । मनाङ ट्रेड लिङ्कले निर्माण गरिरहेको २० मेगावाटको तल्लो मोदी आयोजनाले यसै वर्षभित्र उत्पादन दिने गरी काम गरिरहेको छ ।
त्यस्तै चौधरी ग्रुपले १५ मेगावाटको मध्यमोदी आयोजना पनि डेढ वर्षदेखि निर्माण गरिरहेको छ । सुपर मोदी र अपर मोदी आयोजना गरी अरू दुई आयोजना पनि निर्माणको तयारीमा रहेको निर्माणाधीन मध्य मोदी आयोजनाका लेखा अधिकृत कृष्ण रिमालले बताए । सबै आयोजना निर्माण हुँदा मोदीको पर्वत क्षेत्रमा पर्ने १७ किलोमिटर दूरीमा सात ओटा जलविद्युत् आयोजना निर्माण हुने छन् ।
प्रकाशित मिति: १७ भाद्र २०७३, शुक्रबार ०७:४०