काठमाडौ, १७ भदौ । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपालीको महान् पर्व दसंैमा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् । असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९ वा १०) मध्ये एक दिन राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने प्रस्ताव पठाएका हुन् । असोज २२ गते फूलपाती, २३ गते महाष्टमी र २४ गते महानवमी पर्छ ।
भारतको गोवामा हुने चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा राष्ट्रपति सीले नेपाल भ्रमण गर्न सक्ने एक मन्त्रीले बताए । यसअघि चिनियाँ पत्रिका मर्निङ हेराल्डले ब्रिक्स सम्मेलनमा सहभागी भएर फर्कंदा चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने उल्लेख गरेको थियो । भारतको गोवास्थित पणजीमा असोज २८ र २९ मा ब्रिक्स सम्मेलन हुँदैछ ।अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
‘पहिले ब्रिक्स सम्मेलनपछि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भन्ने थियो, अहिले ब्रिक्स सम्मेलनपहिले नै नेपाल भ्रमण गर्ने प्रस्ताव आएको छ’, एक मन्त्रीले बिहीबार अन्नपूर्णसँग भने । ती मन्त्रीका अनुसार चिनियाँ अधिकारीहरूले आफ्ना राष्ट्रपतिको भ्रमणको मिति प्रस्ताव गरेपछि सरकारले बिहीबार चीनका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लीलामणि पौड्याललाई र भारतका लागि नेपाली राजदूतमा दीपकुमार उपाध्यायलाई पठाउने निर्णय गरेको छ ।
‘चीनका तर्फबाट राष्ट्रपतिको भ्रमण हाम्रो फूलपाती, अष्टमी, नवमीमध्ये एक दिन गर्ने गरी प्रस्ताव आएको छ,’ ती मन्त्रीले अन्नपूर्णसँग भने । नेपालमा दुई दशकपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले नेपालसँग दीर्घकालीन रणनीतिक सम्बन्ध विकास गर्न चाहेको बताएका थिए । ओलीको बेइजिङ भ्रमणका बेला भएका १० बुँदे सम्झौता र १५ बुँदे संयुक्त वक्तव्यमा राखिएका विषय कार्यान्वयनमा लैजान नेपालमा सरकार परिवर्तन हुँदैमा फरक नपर्ने विश्वास चिनियाँ विदेश मन्त्रालयले गत जुलाई २५ मा प्रेस विज्ञप्ति जारी गरी व्यक्त गरेको थियो ।
दुवै छिमेकीसँग सन्तुलनकारी कूटनीति अवलम्बन गर्ने वर्तमान सरकारको नीतिअनुसार दुवै मुलुकमा उच्चस्तरीय भ्रमण आदानप्रदान सहज बनाउन तत्काल राजदूत नियुक्त गर्ने निर्णय गरिएको ती मन्त्रीले बताए ।
‘निकट भविष्यमा चीनका राष्ट्रपति र भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । त्यहाँ हाम्रो राजदूत हुनु जरुरी हुनाले मन्त्रिपरिषद्ले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई राजदूतमा प्रस्तावित गरेको हो’, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने, ‘केही समयदेखि भारत, चीनलगायतका देशमा राजदूत छैनन् । निकट भविष्यमै हाम्रो प्रधानमन्त्रीको भारत भ्रमण हुँदैछ ।’ ओली नेतृत्वको सरकारले चीनका लागि नेपाली राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउन सिफारिस गरेको थियो भने नयाँ सरकारले अघिल्लो सरकारको निर्णय खारेज गरेको थियो ।
प्रकाशित मिति: १७ भाद्र २०७३, शुक्रबार ०७:३४