काठमाडौँ १७ भदौ एमालेले पार्टी नेता–कार्यकर्ताका लागि नियमित रूपमा ‘प्रविधिमैत्री’ स्कुल सुरु गरेको छ । केन्द्र, प्रदेश हुँदै तल्ला तहसम्म लैजाने गरी एमाले केन्द्रीय स्कुल विभागले नेता–कार्यकर्ताका लागि नियमित स्कुल सुरु गरेको हो । वार्षिक रूपमा नियमित सञ्चालन गर्ने गरी गत २३ साउनबाट सुरु स्कुलमा ७२ जना परीक्षार्थी ‘दीक्षित’ भएका छन् । युवा संघ नेपालका केन्द्रीय पदाधिकारी र सचिवालयका ३४ जना नेता–कार्यकर्तालाई सोमबार महासचिव ईश्वर पोखरेलले दीक्षित गरे । त्यसअघि अनेरास्ववियुका ३८ कार्यकर्ता दीक्षित भएका थिए ।
दैनिक चार घन्टा पढाइ
१४ वटा विषयमा दैनिक चार घन्टाका दरले साताव्यापी प्रशिक्षण चलिरहेको छ । पार्टी अध्यक्ष केपी ओली स्वयं स्कुल विभागको प्रमुख छन् । तर, नियमित रूपमा सुरु गरिएको स्कुलको नेतृत्व अहिलेलाई उपप्रमुख शंकर पोखरेल र सचिव ईश्वरी रिजालले गरेका छन् ।
के–के सिकाइन्छ ?
कम्युनिस्ट पार्टीको स्कुल या प्रशिक्षण भन्नेबित्तिकै ‘फलामे अनुशासन’को पट्यारलाग्दो भन्ने परम्परागत बुझाइ रहे पनि एमालेले सुरु गरेको प्रशिक्षण भने आधुनिक प्रविधिमैत्री, अन्तरक्रियात्मक र व्यक्तिको रुचिमा आधारित विशिष्ट प्रकारको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको तीनतले भवनमा एमालेले कार्यकर्ताका लागि प्रविधिमैत्री प्रशिक्षण चलाएको हो । ‘ल्यापटपबाट पावर प्वाइन्टमार्फत प्रोजेक्टरमा स्लाइड सो गरेर कक्षा सञ्चालन भइरहेको छ,’ केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव ईश्वरी रिजालले भने, ‘प्रशिक्षार्थीलाई इमेल–इन्टरनेटको सुविधासहित प्रत्येक प्रशिक्षकले अन्तरक्रियासँगै प्रयोगात्मक अभ्यास पनि गराउनुहुन्छ ।’ प्रशिक्षक उत्पादन गर्ने स्कुलमा एमालेले कार्यकर्तालाई आधुनिक तरिकाले प्रशिक्षण सीप र कलाको विषयमा समेत ‘स्कुलिङ’ गरिरहेको छ । व्यक्तिका रुचिका आधारमा दर्शन, अर्थशास्त्र, समाजशास्त्रलगायत विशिष्टकृत प्रकृतिको नियमित रूपमा छुट्टै स्कुल चलाउने तयारीसमेत एमालेले गरेको छ ।
१४ वटा ‘स्कुलिङ’का विषय
नियमित स्कुलमा एमालेले माक्र्सवादी दर्शन र आर्थिक–सामाजिक रूपान्तरण, जनताको बहुदलीय जनवाद, नेपालको सामाजिक चरित्र र सांस्कृतिक रूपान्तरण, तराई–मधेस समस्या र समाधान, प्रशिक्षण सीप र कला, सामाजिक समावेशीकरण, भूराजनीति र परराष्ट्र सम्बन्ध, संगठन निर्माण परिचालन र व्यवस्थापन पढाउँदै छ । यस्तै, कम्युनिस्ट आन्दोलनको इतिहास, एक्काइसौँ शताब्दीको राजनीति र सञ्चार, नेपालमा विकास सम्भावना र चुनौती, विकास र समृद्धिका लागि ओली सरकारको नीति तथा कार्यक्रम र बजेट, स्थानीय तहको पुनर्संरचनासहित १४ वटा विषयमा कार्यकर्तालाई स्कुलिङ गरिरहेको छ । तर, प्रशिक्षार्थी समूह र उनीहरूका रुचिका आधारमा कतिपय विषयमा फेरबदल गर्ने गरिएको रिजालले जानकारी दिए ।
यस्ता छन् विषय प्रशिक्षक
एमाले नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्बीसुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्ट, किरण गुरुङ, लालबाबु पण्डित, बिन्दा पाण्डे, ईश्वरी रिजाल, रवीन्द्र अधिकारी, घनश्याम कोइरालालगायतले प्रशक्षिण दिएका छन् । स्कुल विभागका पूर्वप्रमुख घनश्याम भुसाल र उपप्रमुख बेदुराम भुसालले भने प्रशिक्षण कक्षा पाएका छैनन् । केन्द्रीय सदस्य रिजालले विषय र व्यक्तिको ‘क्वालिटी’का आधारमा प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेको बताए । परीक्षा उत्तीर्ण अनिवार्य दैनिक चार घन्टाका दरले सात दिनको प्रशिक्षणको अन्तिम दिन लिइने परीक्षामा अनिवार्य रूपमा प्रशिक्षार्थी उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ । प्रशिक्षक प्रशिक्षण भएकाले एक सय पूर्णांंकको परीक्षामा ४० नम्बर ल्याएर उत्तीर्ण नहुने परिक्षार्थीलाई पुनः कक्षामा सहभागी हुन प्रेरित गरिने नियम बनाइएको छ । अनुत्तीर्णको नाम गोप्य राखेर त्यसरी प्रेरित गरिने रिजालले बताए ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: १७ भाद्र २०७३, शुक्रबार ०७:३१